काठमाडौँ- सरकारले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः प्रतिष्ठानकै नाममा हस्तान्तरण गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरा जग्गा (११४–३–०–०) पुनः प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय भएको जानकारी दिए।
यसअघि २०७५ भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले महारजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रक्षिण प्रतिष्ठानको पूरै जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो।
त्यस्तै सरकारले एकीकृत खानेपानी तथा ढल व्यवस्थापनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालायतका दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
प्रवक्ता पोखरेलले एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण सहायतासम्बन्धी सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले सरकारी निकायमा भउका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।



