गगनको विद्रोह : कानुनी वैधता, जनताबाट तिरस्कृत

किरण पौडेल ५ वैशाख २०८३ २१:०३ | Saturday, April 18, 2026
34
SHARES
गगनको विद्रोह : कानुनी वैधता, जनताबाट तिरस्कृत फाइल तस्बिर

काठमाडौँ– गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई अदालतले आधिकारिकताको फैसला दिएपछि पार्टीको चार महिना लामो वैधताको लडाइँ अन्त्य भएको छ। सर्वोच्च अदालतले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हालेको रिट खारेज गर्दै शुक्रबार थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिएको हो। अदालतको यो फैसलाबाट गत माघ सुरुमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले पनि सार्थकता पाएको छ।

थापाले बोलाएको विशेष महाधिवेशनप्रति तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूह असन्तुष्ट थिए। उनीहरूले विभिन्न प्रावधान देखाउँदै निर्वाचन आयोगमा आधिकारिकताको प्रश्न उठाएका थिए। आयोगले विशेष महाधिवेशन वैध भएको ठहर गरेको थियो। त्यसपछि थापासँग असन्तुष्ट नेताहरू सर्वोच्च अदालतमा पुगेका थिए।

नेताहरूका अनुसार लामो समयदेखि कांग्रेसमा पुस्तान्तरणको मुद्दा बोकेर हिँडेका थापाको विद्रोह स्थापित भएको छ। थापा नेतृत्वको कांग्रेस आधिकारिक भए पनि उनका विशेष महाधिवेशनमा गरेका बाचा भने अपूरा देखिएका छन्। उनले कांग्रेसलाई पहिलो शक्ति बनाउने दाबी गरेका थिए। आफूलाई प्रधानमन्त्रीको दाबी गरेर चुनावमा गएका थापाले लज्जास्पद मत ल्याए। उनी नेतृत्व लिन सफल भए पनि जिम्मेवारी पूरा गर्न चुकेको विश्लेषकहरू बताउँछन्।

गगन कति सफल, कति असफल?

थापा कांग्रेसमा लामो समयदेखि विद्रोहको आवाज बोल्ने नेताका रूपमा परिचित छन्। नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय भएका उनी हार किन नहोस्, पार्टी नेतृत्वको विरुद्धमा निरन्तर देखिँदै आएका छन्।
थापा कांग्रेसको १३ औँ महाधिवेशन (२०७२) मा कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए। सिटौला सभापतिमा लड्दै गर्दा समूहमा थापा, प्रदीप पौडलसहितका नेता थिए। त्यसबेला थापासहितका नेताले चुनाव हारे। सभापतिमा देउवाले जिते।

चौधौँ महाधिवेशन (२०७८) मा देउवा सभापतिमा दोहोरिँदा थापा शेखर समूहबाट महामन्त्रीमै लडे। थापाले चुनाव जिते। त्यसपछि झनै दरिलो गरी पार्टी नेतृत्वविरुद्ध संघर्ष गरेका थापा गत माघमा विशेष महाधिवेशनबाट सभापति पदमै चुनिए। राजनीतिक विश्लेषक डा.विष्णु दाहाल भन्छन्, ‘थापाले विगतबाटै संघर्ष गरे। देउवाको कमजोरी पनि थाहा पाए अनि पार्टी सत्तामा सफल बने। तर राज्य सत्ता पाउनचाहिँ विफल भए।’

दाहालका अनुसार थापा निरन्तर विद्रोहमा लागेका कारण पार्टी सत्तामा सफल भएका थिए। थापा पार्टी नेतृत्वलाई पुस्तान्तरणका लागि कहिले फरक मत राख्ने त कहिले निर्णयअनुसार आफूअनुकूल बनाउने गर्थे। फागुन २१ को चुनाव थापाकै नेतृत्वमा हुँदा पनि कांग्रेसले झिनो मत ल्यायो।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित पहिलो बन्दा कांग्रेस ३८ सिटमा खुम्चियो। २०७९ सालको चुनावमा देउवा नेतृत्वमै रहँदा कांग्रेस ८९ सिट जितेर पहिलो बनेको थियो। यसअघि निरन्तर चुनाव जित्दै आएका थापाले यसपटक चुनाव हारे।

‘चुनावमा हार भयो। तर यो कांग्रेसको मात्र हार थिएन,’ अर्का राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्, ‘यसपटक समय यस्तै थियो। एक किसिमको बाढीले बगायो। यसलाई गगनको पराजय भनेर मात्र नबुझौँ।’ पोखरेल जेनजी विद्रोहपछि विषम परिस्थितिमा भएको चुनावका कारण कांग्रेसको हार भएको बताउँछन्।

‘गगनले सडकको भावना बुझ्न सकेनन्। नयाँ दलविरुद्ध मात्र जान खोज्दा पराजय भोग्नुपर्‍यो,’ दाहाल थप्छन्, ‘थापाले रवि लामिछानेको विरोध गरिरहे भने रास्वपाको अस्तित्व स्वीकार्न चाहेनन्। त्यस कारण उनी चुनावमा असफल भए।’ विश्लेषक दाहाल थापाले नयाँ दलविरुद्ध लगातार ‘अन्याय’ गरेको उपज राज्य सत्ता पाउन असफल भएको बताउँछन्।

अर्का विश्लेषक पोखरेल भने यसपटक राज्य सत्ता पाउन थापालाई समयले साथ नदिएको बताउँछन्। ‘गगनले अपेक्षाकृत् काम गर्न खोजेका हुन् तर समय ढिला भयो’, उनी भन्छन्। थापा नेतृत्वको कांग्रेसले पुस अन्तिम साता विशेष महाधिवेशन सम्पन्न गरे पनि निर्वाचन आयोगबाट वैधता लिन तीन दिन कुर्नुपर्‍यो। वैधता पाउनेबित्तिकै प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्नुपरेको थियो।

नेताहरूका अनुसार हतारमा काम गर्नुपर्दा चुनावमा मत नआएको हो। ‘गगनले विद्रोह गरे। तर यसअघि नै बालेन–रवि मिलिसकेका थिए। यही कारण गगनको आवाज छायामा परेको हो। त्यसको असर चुनावमा देखियो’, विश्लेषक पोखरेल भन्छन्। उनी राजनीतिमा एक चुनावले मात्र नेताको भविष्य नाप्न नसकिने हुँदा आगामी बाटो हेर्नुपर्ने बताउँछन्।

गगनको अबको बाटो

कांग्रेसमा देउवाको पुरानो समूह (हाल पूर्णबहादुर खड्का) समूह निरन्तर खबरदारी गरिरहेको छ। देउवा समूहले विधान उल्लंघन गरेको आरोप कांग्रेसले लगाएको छ। पार्टीको लेटरप्याडमा कार्यवाहक सभापति लेखेको भन्दै खड्कामाथि कांग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोधेको छ। खड्काविरुद्ध थापा लडिरहेकै बेला अदालतले पार्टी वैधता टुंग्याएको छ। थापा समूहले वैधानिकता पाउँदा खड्का समूह आक्रोशित छ। नेताहरू भने कांग्रेसलाई अघि बढाउने जिम्मेवारी थापाकै काँधमा रहेकोे बताउँछन्।

‘अब अदालतले भनिसकेपछि हामी एक हुनुको विकल्प छैन। सभापतिजी लचक भएर अघि बढ्नुपर्छ,’ इतर समूहका नेता रामहरि खतिवडा भन्छन्, ‘चुनावको समीक्षा गर्दै अघि बढ्नुपर्छ। फुटेर भन्दा जुटेर अघि बढ्नुपर्छ।’

नेताहरू अब पार्टीलाई सग्लो राख्ने अभिभारा पनि थापाको काँधमा आएको बताउँछन्। ‘जसरी स्पष्टीकरणका कुरा आएका छन्। यी विषयमा पनि सोच्न जरुरी छ। कांग्रेस हिजो जुन मोडमा थियो, अब छैन’, खतिवडा भन्छन्।

अहिले कांग्रेसमा तीन समूह छन्। थापा समूह संस्थापन रहँदा खड्का समूह ‘प्रतिपक्ष’मा छ। डा. शेखर कोइरालाको समूह पनि सक्रिय देखिन्छ। नेताहरू थापा–खड्का समूह मिलाउन कोइराला समूह लागिपरेको दाबी गर्छन्। थापा समूहका नेताहरू अब मिलेर जानुको विकल्प नभएको बताउँछन्।

‘हामीभित्र समस्या छन्। तर समाधान गर्नुपर्छ,’ कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौला भन्छिन्, ‘१५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ र सबै महाधिवेशनमा होमियौँ भने सबैको जित हुन्छ।’

संगौलाका अनुसार अब कांग्रेसको काँधमा तीन मुख्य जिम्मेवारी छन्। एक, आन्तरिक विवाद साम्य बनाउने, दोस्रो एकताको महाधिवेशन गराएर अर्को चुनावको तयारी गर्ने र तेस्रो ‘रचनात्मक प्रतिपक्षको भूमिका’ खेल्ने। ‘आन्तरिक विवाद समाधानका लागि सभापतिज्यूलाई नै पार्टीले जिम्मेवारी दिएको छ। उहाँले समन्वय गर्नुहुनेछ। अब १५ औँ महाधिवेशनतिर लाग्नुपर्छ,’ संग्रौला भन्छिन्, ‘अहिले सत्तामा दरिलो÷बलियो पार्टी छ। त्यसको खबरदारी पनि गर्नुपर्छ।’

प्रकाशित: ५ वैशाख २०८३ २१:०३ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast