महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसाइलीलाई पक्राउ गरेको छ।
महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा हिनामिना गरी भ्रष्टाचार गरेपछि अदालतबाट कैद र जरिबाना सजाय भएका भीमदत्त नगरपालिका–१३ का ४४ वर्षीय रसायलीलाई घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले विशेष अदालत काठमाडौँको २०८१ वैशाख २४ गतेको फैसलाले भ्रष्टाचार मुद्दामा फरार रहेका रसाइलीलाई चार वर्ष कैद सजाय र ७६ लाख ८२ हजार ४६६ जरिबाना तोकिएको बताए।
रसायलीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कञ्चनपुर हुँदै कारागार पठाइएको उनको भनाइ छ।
यसअघि कञ्चनपुर प्रहरीले सोही मुद्दामा फरार रहेका नगर विकास समितिका पूर्वअध्यक्ष पल्टु रानालाई पक्राउ गरी कारागार चलान गरिसकेको छ। विशेष अदालत काठमाडौँबाट पाँच वर्ष ११ महिना कैद र ८५ लाख जरिबाना तोकिएका पल्टुलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेलौरी क्षेत्रबाटै पक्राउ गरी कारागार चलान गरेको थियो।



