फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विशेष महाधिवेशन पक्षधरलाई दिने फैसला गरेपछि स्पष्ट धारणा बनाउन देउवा समूहले भेला बोलाएको हो।
भेला काठमाडौँको धुम्बराहीस्थित स्मार्ट प्यालेसमा बसिरहेको छ। पार्टीको आधिकारिकता विशेष महाधिवेशन पक्षधरले पाएपछि आगामी रणनीति तय गर्ने विषयमा छलफल गर्न भेला बोलाइएको नेताहरूले बताएका छन्। यस्ता बैठकहरू आगामी दिनमा चलिरहने पनि उनीहरूले जनाएका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्वको भेलामा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, मीनबहादुर विश्वकर्मालगायतका नेताहरू सहभागी छन्।
यसअघि शनिबार निवर्तमान कार्यवाहक सभापति खड्काको निवासमा बसेको देउवा समूहका पूर्वपदाधिकारीहरूको छलफलले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको थियो।
सर्वोच्चको फैसलामा असहमति राख्ने कतिपय आधारहरू भए तापनि स्वीकार गरेर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको थियो। यद्यपि पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी अब सभापति गगन थापामाथि आइपुगेको देउवा पक्षका नेताहरूको भनाइ छ।
सभापति थापाले प्रस्तुत गर्ने व्यवहारले पार्टीको १५ औँ महाधिवेशन साझा बन्ने नबन्ने निर्धारण हुने देउवा समूहका नेताहरूले बताएका छन्।



