काठमाडौँ- प्रतिनिधिसभा सदस्य चुनावमा १४ सिटबाट पाँच सिटमा झरेको पुराना पञ्चहरू बाहुल्यको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्तरिक विवादमा गुज्रिएको छ। पार्टीलाई जनताले विश्वास नगरे पनि नेताहरू भने पद जोगाउन एकअर्कामाथि हिलो छ्याप्न व्यस्त देखिएका हुन्। आन्तरिक विवादकै कारण पार्टी विभाजनतर्फ मोडिएको जानकारहरू बताउँछन्।
नेताहरू निर्वाचनमा पराजय जिम्मेवारी र आगामी महाधिवेशनको विषयमा दुई समूहमा विभाजित छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा चार सिट पाएको छ। राप्रपाले २०७९ को निर्वाचनमा सात प्रत्यक्ष र सात समानुपातिक गरी १४ सिट जितेको थियो।
राप्रपाको हारपछि हिन्दू धर्म र राजसंस्थाको एजेन्डा पनि कमजोर बनेको छ। चुनावमा हारपछि केही नेताहरूले नैतिकताका आधारमा राजीनामा दिएका छन्। नैतिकताका आधारमा राजीनामा दिएको राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताए।
नेताहरूका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनमाथि दबाब बढाउन राजीनामा दिइएको भए पनि उनी हच्किएका छैनन्। तीन वर्षयता राप्रपामा दुई गुट छन्। एउटा गुटको नेतृत्व लिङ्देन (संस्थापन) र अर्कोको महामन्त्री धवलशमशेर राणा (इतर)ले गर्छन्। राणा पक्षले लिङ्देनको राजीनामा मागेर महाधिवेशनमा जानुपर्ने सुझाव दिएपछि विवाद बढेको हो।
राणा-लिङ्देन ‘दन्तबझान’
राणा पक्षले चार सूत्रीय माग राखेर लिङ्देनको राजीनामा मागेको थियो। निर्वाचन असफलताको नैतिक जिम्मेवारी वहन गर्दै अध्यक्षले राजीनामा दिनुपर्ने, सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने, केन्द्रीय महाधिवेशनको मिति एक साताभित्र घोषणा गर्ने र एकता महाधिवेशनपछि राप्रपाको आदर्श, विधान र अनुशासनविपरीत भएका कामकारबाहीको न्यायसंगत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेस गर्न एक छानबिन समिति गठन गर्ने माग राखेका थिए।
राणा पक्षको कुरा लिङ्देन पक्षले सुनेन। लिङ्देनका स्वकीय सचिव छत्र खडायतले ‘विचार, लक्ष्य र सिद्धान्त नमिले जबर्जजस्ती एकै ठाउँमा टिकिरहनुभन्दा आफ्नो मूल्यसँग मेल खाने समूह वा पार्टी रोज्नु राजनीतिक परिपक्वता हुने’ बताएका थिए। तर पनि राप्रपामा विवाद जारी छ।
दुई ध्रुवका नेताहरू बाझाबाझको स्थितिमा छन्। राणापक्षीय नेता रञ्जन कार्की पार्टी अघि बढाउन तत्काल नयाँ महाधिवेशन गर्नुपर्ने बताउँछन्। ‘पार्टीमा एकदमै पुरानो शैली र तरिका छ। यो फेर्न आवश्यक छ,’ कार्की भन्छन्, ‘विगतमा भएका गल्तीको नैतिक जिम्मेवारी लिएर पार्टी विघटन गरेर नयाँ शिराबाट अघि बढाउनुपर्छ।’
कार्कीका अनुसार राप्रपा हालकै अवस्थामा अघि बढ्न नसक्ने बताउँछन्। पछिल्ला दिनमा राप्रपामा एकदमै खैलाबैला चलेको छ। लिङ्देन पक्ष नेताहरूले राणा पक्षको चर्को विरोध गरिरहेका छन्। लिङ्देन पक्षीय नेत्री अञ्जु सुवेदीले अध्यक्षमाथि प्रश्न उठाउनुभन्दा आफ्नो वडाको पार्टी संरचना हेर्न कार्कीलाई अनुरोध गरेकी छन्।
‘रञ्जनजी आफ्नो वडामा कति भोट आयो? तपाईंबाट कति सक्रिय सदस्यहरु भए? यसको उत्तर हामीलाई चाहियो है अब?’, सुवेदीले भनेकी छन्।
राप्रपा प्रवक्ता एवं लिङ्देन पक्षधर नेता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनले महाधिवेशन टारेको भनेर अनर्गल प्रचार भइरहेको बताउँछन्। ‘अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्नका लागि त्यसको प्रक्रियामा उहिल्यै प्रवेश गरिसक्नुभएको हो। महाधिवेशनका लागि न्यूनतम सर्त भनेको जिल्ला अधिवेशन सम्पन्न हुनुपर्छ। उहाँको गृहजिल्ला झापाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। पार्टीले स्थानीय तह हुँदै जिल्ला अधिवेशन सम्पन्न गर्न दुईपटक म्याद थप गरिसकेको छ। दुई दर्जन बढी जिल्लाहरुको अधिवेशन भइसकेको छ। बरु महाधिवेशनको चर्का कुरा गर्ने साथीहरुको जिल्लामा अधिवेशन भएको छैन।’
श्रेष्ठले लिङ्देनमाथि प्रश्न उठाउनेहरूलाई आफ्नो जिल्लामा अधिवेशन भएनभएको प्रस्ट पार्न अनुरोध गरेका छन्।
पूर्वराजाको निर्देशन लत्त्याएको विषयले फेरि विवाद
प्रजातन्त्र दिवस (फागुन ७) मा पूर्वराजा ज्ञानेन्द्र शाहले चुनावमा नजान अनुरोध गर्दै सार्वजनिक अपिल गरेका थिए। चुनावपछि परिस्थिति झनै जटिल बन्ने शाहको अभिव्यक्ति थियो। राप्रपाले निर्देशन मानेन। लिङ्देनसहितका नेताहरूले चुनाव लडे। अहिले राणा पक्षले नेताहरूले पूर्वराजाको निर्देशन लत्याएको आरोप लगाएका छन्। प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री धवलशमशेर राणा र उपाध्यक्ष विक्रम पाण्डेले चुनाव लडेनन्।
‘महाराजाधिराज सरकारको वक्तव्यले समेत निर्वाचनअघि नै समस्याको समाधान खोजेर मात्र निर्वाचनमा जानु उचित हुने सन्देश दिएको परिस्थितिमा यसले राप्रपाभित्र गम्भीर बहस र उकुसमुकुसको स्थिति सिर्जना गरेको थियो’, राप्रपा नेता कार्की भन्छन्, ‘तर नेतृत्वले यसबारे ख्यालै गरेन।’ चुनावपछि यस विषय पनि समीक्षा गर्नुपर्ने नेताहरूको माग छ। हालसम्म राप्रपाले समीक्षा बैठक राखेको छैन।
विभाजन होला त पार्टी?
आन्तरिक द्वन्द्व बढेका कारण राप्रपा विभाजनमा जान सक्ने भय बढेको छ। धवल पक्षले महाधिवेशनका लागि लिङ्देनलाई ‘अल्टिमेटम’ दिएको छ। ‘एक साताभित्रमा महाधिवेशन घोषणा गर्न’ अनुरोध गरेको छ। तर लिङ्देनले चासो दिएका छैनन्।
‘अध्यक्षज्यू महाधिवेशनको विरोधमा हुनुहुन्न। हामी काम गरिराछौँ’, राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्। राणा पक्षीय नेताहरू भने निरन्तर खबरदारीमा छन्। ‘सबैले नैतिकता सम्झिएर अघि बढ्नुपर्छ। चुनावको समीक्षा गरेर अघि बढ्नुपर्छ’, राणापक्षीय नेता जनकराज पाठक भन्छन्।
पार्टी विभाजन हुन्छ कि भन्ने चासोमा राणा पक्षीय नेताहरू विमति राख्छन्। ‘अहिले हामीलाई जे लिखित कुरा खुलाएको छ त्यो आधिकारिक हो। त्यसबाहेक अन्य कुनै कुरामा सत्यता छैन’, राणा पक्षीय नेता सगुनसुन्दर लावती भन्छन्।




