काठमाडौँमा मंगलबार बसेको शेरबहादुर देउवा पक्षीय कांग्रेसको बैठक।
काठमाडौँ– नेपाली कांग्रेसमा महाधिवेशन मिति विवाद बढेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष महाधिवेशनअघि वैशाखमा तय भएको महाधिवेशनलाई अघि बढाउने तयारी गरेपछि विवाद चुलिएको हो।
काठमाडौँमा मंगलबार सुरु भएको १४ औँ महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको विस्तारित बैठकबाट वैशाखमा तय भएको महाधिवेशनलाई नै अघि बढाउने गरी कार्ययोजना बनाउने तयारी गरिएको हो।
कांग्रेस नेता मीन विश्वकर्माले विशेष महाधिवेशनअघि वैशाखमा तय भएको महाधिवेशनको समय आइसकेको अवस्थामा त्यसलाई नै एकताको अधिवेशन बनाउने गरी छलफल हुने जाकारी दिए।
कांग्रेस सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले भने १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको छ। पार्टीले यसका लागि क्रियाशील सदस्यता फाराम जिल्लाहरूमा पठाइसकेको छ। कांग्रेसले महाधिवेशन कार्यतालिका पनि पारित गरेको छ।
निर्वाचन आयोग र अदालतले थापा नेतृत्वलाई वैधानिकता दिएपछि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरुलाई क्रियाशील बनाउँदै परिचालन गरिने र सबैलाई समेटेर १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने गरी बैठकले आवश्यक निर्णय गर्ने विश्वकर्माले बताए।
उनले पार्टीलाई एकताबद्ध गर्ने सवालमा आफूहरु निरन्तर छलफलमा रहे पनि सभापति थापा पक्षबाट संवादको विन्दु नै प्रारम्भ हुन नसकेको बताए। विशेष अधिवेशन र नियमित अधिवेशन पक्षधरहरूलाई मिलाएर १५ औँ महाधिवेशनमा लैजानुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।
विस्तारित भेलाबाट निर्वाचनको समीक्षाका साथै निर्वाचनमा पराजयको कारण खोजिनेछ। विस्तारित बैठक तीन दिनसम्म लम्विन सक्ने विश्वकर्माले जानकारी दिए।




