सुर्खेतबाट १०८ जना सैनिक दीक्षित

हिमाल प्रेस ११ वैशाख २०८३ २०:१२ | Friday, April 24, 2026
28
SHARES
सुर्खेतबाट १०८ जना सैनिक दीक्षित

सुर्खेत- नेपाली सेनाको उत्तरपश्चिम पृतना मुख्यालयअन्तर्गत कालीबहादुर गण, कपासे व्यारेक सुर्खेतमा आयोजित दीक्षान्त समारोहबाट १०८ जना नयाँ सैनिक दीक्षित भएका छन्। ९ महिनाको कडा आधारभूत तालिम पूरा गरेका ती सैनिकहरूले अन्तिम दलेल कवाजसहित परेड प्रदर्शन गर्दै औपचारिकरूपमा नेपाली सेनामा प्रवेश गरेका हुन्।

दीक्षित हुनेमा सुदूरपश्चिम प्रदेशबाट आठ, लुम्बिनीबाट २०, कर्णालीबाट ३९ र गण्डकी प्रदेशबाट ३९, बागमती एक र मधेश प्रदेशका एक जना छन्।

कार्यक्रमका प्रमुख अतिथि उपरथी दिपकजंग शाहले दीक्षित सैनिकलाई बधाई एवं शुभकामना दिँदै राष्ट्र, जनता र संस्थाप्रति निष्ठावान, अनुशासित र समर्पित रहन निर्देशन दिए।

दीक्षान्त समारोहमा तालिममा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कार वितरण गरिएको थियो। साथै परिवारजनको उपस्थितिमा सैन्य परेड, झण्डा सलामी, कवाज निरीक्षण र सुशोभन कार्यक्रमसमेत गरियो।

कालीबहादुर गणको स्थापना तेश्रो नेपाल–भोट युद्धको दौरान वि.सं. १९१२ मंसिर १६ गते स्व. श्री ५ सुरेन्द्र वीरविक्रम शाहको शासनकालमा भएको हो।

श्री कालीबहादुर गणका गणपति प्रमुख सेनानी बासु खत्रीका अनुसार हालसम्म गणबाट ३८ औँ सिसम पास आउट भएका छन्। उनका अनुसार तालिम सम्पन्न गरेका सैनिकहरू अब विभिन्न रिक्त युनिटहरूमा खटिने छन्।

समारोहमा जिल्ला प्रशासन कार्यालयका प्रमुख, संघसस्थाका प्रमुख र विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

नातिलाई सेनाको पोसाकमा देख्दा…

बागलुङमा बुबा गरिप्रसाद थापा र आमा कलिपुन थापाका दोस्रो सन्तान हुन् खडकबहादुर थापा। सानैदखि नेपाली सेनामा भर्ती भएर देश र जनताको सेवा गर्ने सपना पूरा भएको उनले बताए।

‘घरमा कोही पनि सेनामा हुनुहुन्न, तर मलाई बच्चादेखि सेना हुने मन थियो,’ उनले भने, ‘त्यसैले १२ कक्षा उर्त्तिण हुने बित्तिकै सेनाको तयारीमा लागेको थिएँ।’ उनले आफ्नो सेना बन्ने सपना पूरा भएकोमा खुसी छन्।

खडकबहादुरकी हजुरआमा आफ्नो नातिलाई पहिलो पटक सेनाको पोसाकमा देख्दा निकै खुसी भएको बताइन्। नातिकै कारण आफूले सुर्खेत पनि हेर्ने मौका पाएकोमा खुसी व्यक्त गरिन्।

प्रकाशित: ११ वैशाख २०८३ २०:१२ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast