कांग्रेसमा दुई सभापति : टिकटमा हस्ताक्षर गगनको, शुभकामना सन्देशमा देउवाको

हिमाल प्रेस ९ माघ २०८२ १३:१४ | Friday, January 23, 2026
310
SHARES
कांग्रेसमा दुई सभापति : टिकटमा हस्ताक्षर गगनको,  शुभकामना सन्देशमा देउवाको

काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएर उनकै हस्ताक्षरमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ स्थानमा उम्मेदवार तोकिएका छन्।

कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरिसकेको छ। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयविरुद्ध पूर्वसभापति शेरबहादुर देउवासमेतको रिट सर्वोच्च अदालत पुगेको थियो।

नवनिर्वाचित सभापतिको हस्ताक्षरबाट टिकट लिएर मनोनयन दर्ता गरी उम्मेदवारहरू रूख चिह्नमा भोट माग्दै घरदैलो गर्न थालिसकेका छन्। उम्मेदवार बन्नेमा पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा चिनिएका प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेन्द्र यादव, किशोरसिंह राठोर, एनपी साउद, सुशीला थिङ, नैनसिंह महरलगायत छन्।

देउवा भने अझै पार्टी सभापतिका रूपमा आफूलाई चिनाइरहेका छन्। उनले शुक्रबार वसन्त पञ्चमीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा सभापति शेरबहादुर देउवा लेखिएको छ। देउवाको यस्तो कार्यको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले आज पदबहाली गर्दै छन्। यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्वमहामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित: ९ माघ २०८२ १३:१४ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast