फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने बताएका छन्।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले फागुन २१ गतेको निर्वाचन र त्यसपछि हुने राजनीतिक गतिविधिका कारण आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्न नसकिने बताएका हुन्।
२०८३ पौष मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्ने गरी तयारी गरिने उहाले बताए। उनले विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दाबी गर्दै दुरगामी सोचका साथ घोषणापत्र जारी हुने उल्लेख गरे।
त्यस्तै घिमिरेले आगामी संसदीय दलले सर्वसम्मत रुपमा सभापति गगन थापालाई संसदीय दलको नेता चुन्ने र भावी प्रधानमन्त्री बन्ने दाबी गरे।
महामन्त्री घिमिरेले राष्ट्रिय सभा निर्वाचनका लागि पहिले नै गठबन्धन भईसकेकाले त्यसले निरन्तरता पाउने बताए। उनले फागुन २१ गते हुन लागेको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने, तर निर्वाचनपछिको परिणामका आधार गठबन्धन हुन सक्ने जानकारी दिए।




