बाढीपीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २६ असार २०८२ १५:४८ | Thursday, July 10, 2025
बाढीपीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण नेपालको रसुवा जिल्लामा आएको बाढीपछि हराएकाको खोज तथा उद्धारमा खटिएका उद्धारकर्मीहरू। लगातारको वर्षाका कारण आएको बाढीमा परी नौजनाको निधन भएको छ भने ६ चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएका छन्। तस्बिर : एपी/रासस

काठमाडौँ- रसुवाको नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा गत मंगलबार बिहान ‘हिमताल फुटेर’ आएको बाढीले धनजनको क्षति गरेपछि सांसदहरूले पीडितको तत्काल उद्धार, राहत तथा पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सांसदहरूले विपद्सँग जुध्न पूर्वतयारी, आपतकालीन प्रतिकार्य र पुनःस्थापनाका तीनै चरणमा प्रभावकारी नीति कार्यान्वयनको खाँचो औँल्याए।

समितिका सभापति मायाप्रसाद शर्माले उद्धार, राहत र पुनःस्थापना तुरुन्त गर्न सरकारलाई आग्रह गर्दै बस्ती र पूर्वाधार विपद्मैत्री बनाउनुपर्नेमा जोड दिए। सांसद पदम परियारले पीडितलाई तत्काल राहत दिनुका साथै भत्किएका संरचना छिटो पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। ‘विपद् घटेपछि मात्रै होइन, न्यूनीकरण र व्यवस्थापनमै प्राथमिकता दिनुपर्छ,’ परियारले भने, ‘हाम्रो पूर्वतयारी कमजोर छ।’

सांसद रुक्मिणी कोइरालाले उद्धार तथा राहत व्यवस्थापन समयमै हुनुपर्ने र सीमावर्ती नाका खुलाउनुपर्नेमा जोड दिइन्। सांसद रेणु चन्दले पुनःस्थापनामा ध्यान दिनुपर्ने बताइन् भने सांसद मदनकुमारी शाहले हरेक वर्ष मनसुनमा दोहोरिने समस्या रोक्न अग्रिम तयारी र पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्ने बताइन्।

‘विपद् आउँदा मात्रै फोकस गर्छौं, तर पूर्वतयारीलाई बेवास्ता गरिन्छ,’ शाहले भनिन्, ‘नीतिमा पुनर्विचार आवश्यक छ।’ सांसद श्रीकृष्ण अधिकारी, नरबहादुर विष्ट, सुमित्रा विसीलगायतले पुनःस्थापना र उद्धार समयमै गर्नुपर्नेमा जोड दिँदै विपद्बाट पाठ सिक्नुपर्ने धारणा राखे।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार ‘सेन्टिनेल’ उपग्रहबाट प्राप्त अध्ययनमा हिमताल फुटेर बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। विभागले ल्हेन्दे खोलामा आएको बाढी सुप्राग्लेशियल लेक विस्फोटकै परिणाम भएको जनाएको छ।

प्रकाशित: २६ असार २०८२ १५:४८ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast