कुलिङ पिरियड हटाउन सचिवहरूको धम्की, सरकारले खुट्टा नकमाओस् : सांसद पाण्डे

हिमाल प्रेस ५ असार २०८२ १४:१२ | Thursday, June 19, 2025
कुलिङ पिरियड हटाउन सचिवहरूको धम्की, सरकारले खुट्टा नकमाओस् : सांसद पाण्डे

काठमाडौँ- संघीय निजामती सेवा विधेयक अघि नबढ्नुमा केही सचिवहरूले सरकारमाथि दबाब दिएको भन्दै नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले निजामती विधेयकमा प्रस्ताव गरिएको ‘कुलिङ पिरियड’ प्रावधान खारेज गराउन सचिवहरूले संयुक्त राजीनामाको धम्की दिँदै सरकारलाई दबाब दिएको दाबी गरे।

‘मैले सुनेको छु- संघीय निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’ हटाउन २५ जना सचिवले संयुक्त राजीनामा दिने चेतावनी दिएका छन्,’ पाण्डेले भने,‘सरकारले यस्ता धम्कीको अगाडि खुट्टा नकमाओस्। तुरुन्त विधेयक संसद्‌मा प्रस्तुत गरोस्।’

उनले यस्ता धम्कीपूर्ण व्यवहारका आधारमा नीति निर्माणमा बाधा पुर्‍याउनु आपत्तिजनक रहेको बताए। ‘२५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन्। यस्ता चेतावनीलाई प्रश्रय दिनु हुँदैन,’ उनले भने।

गत मंगलबार प्रतिनिधिसभाको कार्यसूचीमा समेटिएको संघीय निजामती सेवा विधेयक अन्तिम समयमा रोकिनु र केही दिनका लागि स्थगित गरिनु पनि सचिवहरूको दबाबकै परिणाम भएको संकेत पाण्डेले गरे।

सांसद पाण्डेले विधेयकलाई संसद्‌मा अबिलम्ब प्रस्तुत गरी पारित गर्न सरकारलाई आग्रह गर्दै भने, ‘कर्मचारीको इच्छा अनुसार नीति बन्न थाल्यो भने लोकतान्त्रिक शासन प्रणालीमै संकट आउँछ।’

प्रकाशित: ५ असार २०८२ १४:१२ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast