
काठमाडौँ– नेपाली महिला राष्ट्रिय टिमकी कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाले स्वदेशी माटोमा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छिन्। आइतबार प्रिम्याच पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतियोगिताले नेपाललाई उपाधि शून्यता अन्त्य गर्ने राम्रो अवसर प्राप्त भएको बताइन्। ‘हाम्रो तयारी राम्रो छ। टिमको समन्वय बलियो छ। हामी गल्तीहरू कम गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछौँ’, सुब्बाले भनिन्, ‘हामीले प्रशिक्षकको योजनाअनुसार प्रदर्शन गर्न सक्यौँ भने उपाधि जित्न गाह्रो हुनेछैन।’
किर्गिस्तान, लेबनान र म्यानमारका राष्ट्रिय टिमहरू सोमबारदेखि काठमाडौँको दशरथ रंगशालामा सुरु हुने प्रतियोगिताका लागि काठमाडौँ आइसकेका छन्। नेपालले सोमबार प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्नेछ। फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमारसँग खेल्ने कार्यक्रम छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए। ‘अन्जिला र रेखा पौडेल विदेशबाट आइसकेका छन्। सबित्रा भण्डारी सोमबार बिहानसम्म आइपुग्नेछिन्। अब हामी भोलिको खेलको तयारीमा छौँ’, तामाङले भने।
अन्जिला ग्रिस ए डिभिजन क्लब निस एट्रोमिटोउमा खेल्छिन्। यसैगरी रेखा यूएई महिला फुटबल लिगको अबुधाबी काउन्टी क्लबमा खेल्छिन्। सावित्रा फ्रान्सेली प्रिमियर लिग क्लब एन अभान गिंगाम्पमा खेल्छिन्।
फिफा वरीयतामा म्यानमार (५५औँ) नेपाल (१०३औँ) भन्दा माथि छ। किर्गिस्तान गणतन्त्र (१२८औँ) र लेबनान (१३४औँ) नेपालभन्दा तल छन्। नेपालले हालै २०२४ को वाफ महिला च्याम्पियनसिपमा लेबनानलाई २-१ ले पराजित गरेको थियो। म्यानमारसँगको हेड टु हेड खेलमा नेपालले एक पटक बराबरी खेलेको छ। तीन पटक पराजित भएको छ। किर्गिस्तानसँगको नेपालको पछिल्लो भेटमा २०१९ को नज्दा कपमा ८-२ को जित हासिल गरेको थियो।