
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रपति पौडेलले आइतबार बिहान अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।
उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भएका थिए। उनीहरू दुवैजनाको अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। दुवैजनाको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।