संसद्मा सांसदको उपस्थिति घटेपछि रास्वपाले तोक्यो उपस्थित हुने पालो

हिमाल प्रेस ८ असोज २०८३ ११:५४ | Thursday, September 24, 2026
4
SHARES
संसद्मा सांसदको उपस्थिति घटेपछि रास्वपाले तोक्यो उपस्थित हुने पालो

काठमाडौँ- सदनमा सत्तारुढ दलकै उपस्थिति कम भएर विधेयकहरू पारित नहुने जोखिम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सांसदहरूलाई पालो तोकेको छ। शून्य समयमा बोल्नका लागि संसद सचिवालयले तयार पारेको वर्णानुक्रम अनुसारको समूह विभाजनलाई आधार मान्दै रास्वपाले सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि पालो निर्धारण गरेको हो।

रास्वपाले लगाएको पालो अनुसार असोज ८ गते १ सय ३८ जनालाई अनिवार्य उपस्थित हुन भनेको हो। असोज १२ गतेका लागि ९० जना सांसदलाई अनिवार्य उपस्थित हुन भनेको छ।

असोज १३ गते ८१ जना सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ। असोज १४ गते ९१ जना र असोज १५ गते १ सय जना सांसदहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ। असोज १६ गते पनि ९० सांसदलाई अनिवार्य उपस्थित हुनैपर्ने सूचीमा राखिएको छ। असोज १६ गते संघीय संसदको अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ।

रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीका सांसदहरुलाई पालो तोकेर सूची पठाएका हुन्। यद्यपि सांसदहरुको नियमित र पूर्ण उपस्थिति अपेक्षा गरिएको उनले जनाएका छन्।

‘व्यावहारिक परिस्थितिहरूलाई ध्यानमा राख्दै संसदको छलफललाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउनका लागि शून्य समयरसमूहका आधारमा न्यूनतम सङ्ख्या उपस्थिति तालिका निर्धारण गरिएको हो’, बुर्लाकोटीले पत्रकारहरुलाई पठाएको सूचनामा भनिएको छ, ‘तोकिएको मितिमा बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशानुसार अनुरोध गरिन्छ।’

केही दिन यता सांसदहरुको उपस्थिति लगातार घटेको थियो। नेपाली कांग्रेसका सांसदहरु पार्टीको स्थानीय तहका अधिवेशनहरुमा केन्द्रित भएका थिए। नेकपा एमालेका अधिकाशं सांसदहरु केन्द्रीय समितिको बैठकमा थिए। त्यसैले सांसदहरुको उपस्थिति घटेको थियो। रास्वपाले पालो निर्धारणको अर्थ सांसदहरुलाई संसद आउन अनिवार्य नभएको अर्थ नलगाउन आग्रह गरेको छ। विशेष अवस्थामा बाहेक सधैँ संसद आउनु बाध्यकारी भएको जनाएको छ।

रास्वपाले सांसदहरुले खाजा खान समेत आलोपालो बाहिर निस्कन आग्रह गरेको छ। साथै कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेश गर्दा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।

रास्वपाले यसअघि सांसदहरुलाई अनुपस्थितिको कारण सहित गुगल फर्म भर्नुपर्ने व्यवस्था गरेको थियो। तर सांसदहरुले उक्त नियम खासै पालना गरेनन्। रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उपस्थितिमा कडाइ गरिएको मेसेज रास्वपाका सांसदहरूलाई पठाएका थिए ।

यस्तो फर्म भर्ने सांसदले संसद बैठकमा उपस्थित हुन नसक्दा, बैठकमा आधा घण्टा भन्दा ढिलो उपस्थित हुँदा, उपस्थित भएर बीचमै बैठक छाड्नुपर्दा, बैठकको बीचमा बाहिर गएर फर्कनुपर्दा यस्तो फर्म भर्नुपर्ने व्यवस्था गरिएको थियो। यस्तो फर्ममा सांसदहरूले आफ्नो नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, बैठकमा अनुपस्थित हुनुको कारण र बैठकमा बीचमा छाड्नुको कारण खुलाउनुपर्ने व्यवस्था गरिएको थियो।

तर संसदमा रास्वपा सांसदहरुको उपस्थिति घटेको थियो। रास्वपा सचेतक क्रान्तिशिखा धितालले संसदको पहिलो लहरमा बस्ने सांसदहरुको उपस्थिति घटेको विषयमा सांसदहरुको समूहमा नै ध्यानाकर्षण गराएकी थिइन्। तर सांसदहरुले खासै रेस्पोन्स गर्ने गरेका छैनन्।

प्रकाशित: ८ असोज २०८३ ११:५४ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast