![‘एचपीभी’ खोप लगाउँदा लापरबाही, लागू भएन निर्देशन](https://himalpress.com/wp-content/uploads/2024/12/khop.jpg)
पर्सा- पर्सामा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने क्रममा लापरवाही देखिएको छ। खोप लगाउने स्थानमा सरसफाइ नभएको, ‘सेफ्टी बक्स’को व्यवस्था नगरिएको र ‘भ्याक्सिङ केरियर’ तथा सिरिन्जसमेत फोहर भुइँमै राखेर खोप लगाइएको कमजोरी देखिएको हो।
पर्सास्थित वीरगन्ज महानगरपालिकाले यसअघि खोप लगाउन ९ बुँदे निर्देशन जारी गरे पनि लागू हुन सकेको थिएन। खोप निरीक्षणका क्रममा पनि लापारबाही भेटिएको महानगरले जनाएको छ। ‘आइसप्याकलगायत सामग्री, कटन तथा निडललगायत स्वास्थ्य उपकरणको उपयुक्त तवरले प्रबन्ध नपाइएको छ।’ महानगरले भनेको छ। महागरले अनुगमन गर्दा व्यवस्थित नभएको पाएपछि तत्काल कमजोरी सच्याउन निर्देशन दिएको छ।
महानगरभित्रै एउटा सामुदायिक विद्यालयको खोप केन्द्रमा खोप लगाउने क्रममा लापरवाही भएको जनाउँदै प्रशासनले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई सोमबार पत्र लेखेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा सञ्चालन भएको खोप कार्यक्रममा लापरवाही भएकाले सो खोप कार्यक्रम स्थगन गर्न पत्राचार समेत गरेका छन्।