पोखरा– सहारा क्लब पोखराद्वारा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठले पाएका छन्।
प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका हुन्।
पुरस्कार राशि नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ। उक्त पुरस्कार वापत्को रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन्।
तनहुँको पुर्कोटका सनिष श्रेष्ठ विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन्। नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ।
यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन्।
सहारा क्लब पोखराको आयोजनामा २४ औं संस्करणको आहारारा पोखरा गोल्डकप मंगलबारदेखि सुरु हुँदैछ। माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिँदैछन्।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष केशवराज बरालले बताए।
प्रतियोगिता उद्घाटनको अवसरमै सनिषलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ।