चाइना जर्नल

जनतामा समर्पित चिनियाँ कम्युनिस्ट पार्टी

अजय अलौकिक १६ असार २०८३ २१:३० | Tuesday, June 30, 2026
24
SHARES
जनतामा समर्पित चिनियाँ कम्युनिस्ट पार्टी

विश्वमा हजारौँको सङ्ख्यामा राजनीतिक पार्टीहरू छन्। नेपालमा समेत सयभन्दा बढी राजनीतिक पार्टीहरू छन्। यी राजनीतिक पार्टीहरू जनता र सरकारलाई जोड्ने माध्यम हो। यस्ता केही पार्टीको इतिहास लामो पनि होला तर थोरै पार्टी मात्र लामो समयसम्म जनताको मन जितेर सत्तामा टिक्न सफल भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी अर्थात् कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) यस्तै इतिहास र गौरव बोकेको पार्टी हो।

चिनियाँ कम्युनिस्ट पार्टीले बितेको शताब्दीमा चीन राष्ट्रको विकास र मानव विकासको इतिहासमा एउटा शानदार अध्याय लेखेको छ।

सन् १९२१ को जुलाई महिनाको कुनै दिन चिनियाँ कम्युनिस्ट पार्टीका दशभन्दा बढी सदस्यहरूले जोखिम मोलेर च्यासिङको नान हु (ताल) मा एउटा डुङ्गामाथि चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो बैठकको आयोजना गरी औपचारिक रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको घोषणा गरेका थिए।

आधिकारिक इतिहास अनुसार, पार्टीको पहिलो बैठक साङहाईको पूर्व फ्रान्सेली कन्सेसनमा गोप्य रूपमा १३ जनाको सहभागितामा जुलाई २३ मा भएको थियो। अध्यक्ष माओ चतोङले पार्टी स्थापनाको बीस वर्षपछि जुलाई १ लाई पार्टीको आधिकारिक स्थापना दिवस निर्धारण गरेका थिए।

यसरी सन् १९२१ को जुलाईमा स्थापित चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९२१ देखि सन् १९४९ सम्म चिनियाँ जनताको नेतृत्व गरी साम्राज्यवाद, सामन्तवाद, उपनिवेशवाद र नोकरशाही पुँजीवादको शासनलाई फालेर जन गणतन्त्र चीनको स्थापना गरेको थियो।

सन् १९७६ मा साँस्कृतिक क्रान्तिको अन्त्यसँगै चीन नयाँ ऐतिहासिक विकासको अवधिमा प्रवेश गरेको थियो। सन् १९७८ को अन्त्यतिर आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको ११औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले नयाँ चीनलाई नयाँ मोडमा पुर्याएको थियो। सन् १९७८ देखि सीपीसीले तङ स्याउफिङद्वारा प्रस्तावित सुधार र खुलापनको नीति लागू गर्दैआएको छ।

सुधार र खुलापनको नीति लागू भएयता चीनको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासमा विश्व आकर्षित भएको छ। अहिले चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति भइसकेको छ। चीनको आर्थिक तथा सांस्कृतिक विकासले अनुपम सफलता हासिल गरेको छ।

यसै गरी, चीनले सुधार र खुलापन तथा आधुनिक चीनको निर्माणका लागि अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गर्ने प्रयास गर्दै आएको छ। अन्तर्राष्ट्रिय मामिलामा सीपीसीले स्वतन्त्र र स्वावलम्बी तथा शान्तिपूर्ण परराष्ट्र नीतिको अवलम्बन गरेको छ। यसै नीतिमा अडिग रहेर प्रभुत्ववाद र शक्ति राजनीति तथा ‘जीरो सम’ एकपक्षीय हीतको विरोध गरिरहेको छ। विश्वमा शान्तिको उद्घोष गर्दै मानवजातिको प्रगतिलाई अघि बढाउन चाहिरहेको छ।

एकअर्काको सार्वभौमिकता र प्रादेशिक अक्षुण्णताको सम्मान गर्ने, एकअर्का देशमाथि आक्रमण नगर्ने, एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सह-अस्तित्वका पञ्चशील सिद्धान्तमा आधारित रहेर चीनले विश्वका सबै मुलुकहरुसितको सम्बन्धको विकास गर्दै आएको छ।

स्वतन्त्र र स्वावलम्बी, पूर्ण समानता, आपसी सम्मान र एकअर्काका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीले विश्वका विभिन्न मुलुकका पार्टीहरुसँग मैत्रीपूर्ण सम्बन्धको स्थापना र विकास गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका अनुसार हाल पार्टीले विश्वका १७० वटाभन्दा बढी मुलुक तथा क्षेत्रका ६०० वटाभन्दा बढी राजनैतिक पार्टी तथा संगठनसँग मैत्रीपूर्ण सम्पर्क कायम राखेको छ। साथै, सीपीसी विश्वकै सबैभन्दा धेरै सदस्य भएको पार्टी पनि हो। यसका सदस्यहरुको सङ्ख्या दश करोड बाह्र लाख ८० हजार पुगेको छ।

विगतका वर्षहरूमा सीपीसीले सम्पूर्ण चिनियाँ जनताको नेतृत्व गरी नयाँ चीनको स्थापनासँगै विपन्न मुलुकबाट विश्वको दोस्रो आर्थिक समुदाय बनाएको छ। एउटा यस्तो देश जहाँको करिब आधा जनसङ्ख्या अर्को छाकको लागि चिन्ता गर्नुपर्ने अवस्थाबाट आज विश्वमा सबैभन्दा ठूलो मध्यम आय भएकाहरूको देश बनेको छ। सन् २०२५ मा, प्रति चिनियाँको औसत गार्हस्थ उत्पादन मात्रा १३ हजार अमेरिकी डलर नाघेको छ। विश्वको आर्थिक इञ्जिन बन्न सफल चीनले धेरै वर्षदेखि आर्थिक वृद्धिमा ३० प्रतिशतको योगदान दिँदैआएको छ।

यसले असम्भव झैँ देखिने गरिबी निवारण गरेको छ, निरपेक्ष गरिबीबाट जनतालाई मुक्त गरेको छ। कृषि तथा प्रविधिमा विशाल फड्को मारेको छ। कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तनको क्षेत्र तथा अन्तरिक्ष अन्वेषणमा तीव्र स्तरमा बढ्दै छ। जनताको जीवनस्तरमा ठूलो सुधार आएको छ, जीवनयापनलाई सुखी र सुविधा सम्पन्न बनाउँदै जनताको सपनालाई पूरा गर्दैआएको छ।

सरसर्ती हेर्दा यो चमत्कारजस्तै लाग्छ। तर यो चमत्कार होइन, सीपीसीको निरन्तरको अथक प्रयास हो। चीनमा जताततै एउटा नारा देख्न पाइन्छ, जहाँ लेखिएको हुन्छ, जनतालाई तनमनले सेवा गर्नुहोस्। यो नारा पार्टी सदस्यहरूका लागि जन सेवकको रूपमा निरन्तर लागिरहन सम्झाउने स्मारिका हो, झस्काउने सङ्केत हो।

निरन्तर पचहत्तर वर्षदेखि शासन गर्दैआएको विश्वको सबैभन्दा ठूलो सत्तारुढ पार्टी सीपीसीले विश्वलाई विशेषतः विकासोन्मुख देशलाई प्रेरणा शक्ति पनि थपिदिएको छ। सीपीसीको १९ औँ राष्ट्रिय महाधिवेशनले जनताको सुखका लागि र राष्ट्रको पुनरूत्थानका लागि निरन्तर प्रयास गर्दै सन् २०३५ सम्ममा मूल रूपमा समाजवादी आधुनिकीकरण हासिल गरिसक्ने र आर्थिक तथा प्रति व्यक्ति आय औसत रूपमा विकसित देशको स्तरमा पुग्ने घोषणा समेत गरेको छ।

चीनलाई औसत रूपमा सम्पन्न सामाजिक राष्ट्र बनाउने पहिलो शताब्दी लक्ष्य पूरा गरेको सीपीसीले दोस्रो शताब्दी लक्ष्यतर्फ अग्रसर रहँदै जनतालाई सम्पन्न बनाउने र देशलाई समृद्ध, शक्तिशाली आधुनिक समाजवादी मुलुक बनाउने अटल यात्रामा चिनियाँ विशेषतायुक्त समाजवादको मार्गमा अगाडि बढ्दै तीव्र आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरता कायम राखेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनदेखि नै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले “सुन्दर जीवनप्रतिको जनताको अपेक्षा” लाई पूरा गर्नु नै चिनियाँ कम्युनिस्ट पार्टीको लक्ष्य भएको स्पष्ट रूपमा व्यक्त गर्दैआएका छन्। उनले भनेका थिए – ‘पार्टी र जनताका लागि सेवा गर्नका लागि पार्टी र जनताले नै पार्टीका अधिकारीहरुलाई अधिकार दिएको हो। अधिकार जनहितका लागि मात्र हो।’

चिनियाँ कम्युनिस्ट पार्टी जनताबाट जनताका लागि स्थापना गरिएको र जनताकै कारण सफल भएको बुझाइ चिनियाँ जनताको छ। सीले सन् २०१७ मा भनेका थिए, ‘हामीसँग एक भव्य तर सरल लक्ष्य छ, हाम्रो जनताका लागि सुन्दर जीवन।’

यसै गरी, सन् २०१८ मा आयोजित तेह्रौँ चिनियाँ जन काङ्ग्रेस राष्ट्रिय सम्मेलनको पहिलो अधिवेशनमा उनले यसो भनेका थिए। ‘कुनै पनि राज्य अङ्गका कुनै पनि सदस्य जतिसुकै उच्च ओहोदामा आसिन भए तापनि यो कुरा मनन गर्नुपर्दछ कि हाम्रो गणतन्त्र चीन जन गणतन्त्र हो र हामीले सदा जनतालाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ, तनमनले सधैँ जनताको सेवा गर्नुपर्दछ र जनताको रूचि र खुसीका लागि सधैँ मेहनत गर्नुपर्दछ।’

सन् २०२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सयौँ वार्षिकोत्सवको अवसरमा बेइजिङस्थित थ्येनआनमन चोकमा आयोजित भव्य समारोहमा उनले भनेका थिए, ‘चिनियाँ कम्युनिस्ट पार्टीको पुस्तौँपुस्ताले राष्ट्रिय स्वतन्त्रता र मुक्तिका लागि, देशको समृद्धि र सामर्थ्यका लागि तथा जनताको खुसीका लागि सङ्घर्ष गरेका छन्। यो पार्टी जनता र जनताको समृद्धिका लागि जन्मिएको हो। यो पार्टीको मूलभूत लक्ष्य अनुसार सदा जनताको हितका लागि लडिरहनेछ।’

महासचिव सीले पार्टीप्रति वफादार र जनताप्रति जिम्मेवार रहनु नै चिनियाँ कम्युनिस्ट पार्टीको मूल भावना भएको र यो नै पार्टीको भावनात्मक स्रोत भएको पनि उल्लेख गरेका थिए।

आफ्नो स्थापनाको मूल उद्देश्य र अभियानबाट अगाडि बढ्दै सीपीसीले समयसँग अघि बढ्ने, वास्तविक तथा व्यावहारिक दृष्टिकोण लागू गर्दै सैद्धान्तिक नवपद्धतिलाई पछ्याउँदै आफूलाई निरन्तर रूपमा बलियो बनाउँदै लगेको छ।

जब एउटा भिजन र मिसन एक साथ मिल्दछ तब उपलब्धिहरू प्राप्त गर्न सकिन्छ। यही जुलाई १ तारिख, यसै चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५औँ वर्ष पुगेको छ। विश्वले चिनियाँ कम्युनिस्ट पार्टीको गौरवशाली इतिहासबाट धेरै कुरा सिक्नसक्ने देखिन्छ।

यहाँनेर, हाम्रो नेपाल र नेपालको राजनैतिक अस्थिरतासँग जोडिएका राजनीतिक पार्टीको प्रसङ्ग कोट्याउनु सान्दर्भिक छ। विगतका वर्षहरूमा असङ्ख्य पटक सरकार परिवर्तन भए र आजको दिनमा दशकौँदेखि सत्तामा रहँदैआएका ती पुराना पार्टीहरू सरकार बाहिर छन्। भ्रष्टाचार, कुशासन र जनताप्रति अनुत्तरदायी भएकाले नै ती पुराना पार्टी र तिनीहरूका सरकारको पत्तासाफ भएको हो। जेनजी आन्दोलनपछि नयाँ पार्टी अर्थात् सन् २०२२ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको सरकार बनाउन सफल भएको छ। यो परिवर्तन नेपालको राजनीतिक इतिहासमा कोशेढुङ्गा साबित हुने छ कि?

प्रकाशित: १६ असार २०८३ २१:३० | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast