होटल-रेस्टुरेन्टको गुणस्तरमा कडाइ : नियमित अनुगमन गर्न गृहको निर्देशन

हिमाल प्रेस १६ असार २०८३ २१:४४ | Tuesday, June 30, 2026
8
SHARES
होटल-रेस्टुरेन्टको गुणस्तरमा कडाइ : नियमित अनुगमन गर्न गृहको निर्देशन

काठमाडौँ- गृह मन्त्रालयले देशभर सञ्चालित होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइको नियमित तथा प्रभावकारी अनुगमन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाउँदै अनुगमनलाई औपचारिक प्रक्रियामा सीमित नराखी परिणाममुखी बनाउन निर्देशन दिएका हुन्।

मन्त्रालयले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी अस्वच्छ वा न्यून गुणस्तरका खाद्यवस्तु बिक्रीवितरण गर्ने तथा प्रचलित कानुन उल्लंकन गर्ने जो–कोहीमाथि कानुनबमोजिम हदैसम्मको कडा कारबाही गरिने स्पष्ट गरेको छ।

परिपत्रमा देशका विभिन्न स्थानमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइ अत्यन्त कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएकाले त्यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

मन्त्रालयले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा उजुरी दर्ता गर्न सक्ने गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वा द्रुत सेवा डेस्क) तत्काल स्थापना गर्न निर्देशन दिएको छ।

नागरिकबाट प्राप्त प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल सम्बोधन गर्न पनि जिल्ला प्रशासनलाई भनिएको छ। स्थानीय प्रशासनलाई प्रभावकारी र नागरिकमैत्री बनाउन सामान्य प्रकृतिका गुनासो लिएर नागरिकले मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा पनि मन्त्रालयले जोड दिएको छ।

मन्त्रालयको यो निर्देशनसँगै अब जिल्ला प्रशासनहरूले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी होटल तथा रेस्टुरेन्टको नियमित अनुगमन, मापदण्ड पालना र कानुनी कारबाहीलाई थप कडाइ गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १६ असार २०८३ २१:४४ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast