काठमाडौँ- अभिनेता विजय बरालको मुख्य भूमिकामा ‘जनै हराएको बाहुन’ बन्ने भएको छ। निर्माण टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरेका छन्।
पोस्टरसँगै दुई साथीको संवादमार्फत फिल्मको कथावस्तु प्रस्तुत गरिएको छ। संवादमा वृद्ध बाबुआमालाई छोडेर परदेसिएका नेपाली युवाको कथा भनिएको छ। संवादमा फिल्मका मुख्य पात्र विजय बराल र असोसियट निर्देशक तथा कलाकार मनिष राउतको स्वर छ।
फिल्म हिमाल न्यौपानेले निर्देशन गर्नेछन्।यो उनको डेब्यू निर्देशन हो। भानुभक्त ढकालको कथा रहेको फिल्मका उनकै पटकथा र संवाद लेखन छ।
पेपरक्लिपले निर्माण गर्न लागेको फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन्।
फिल्मले गाउँबाट सहर आएको सामान्य परिवारका मानिसले भोग्ने घटना र त्यसले ल्याउने परिवर्तनलाई देखाउने टिमले जनाएकाे छ। नवीन गुरुङको छायांकन गर्ने फिल्म आगामी वर्ष २०८२ सालमा प्रदर्शन गर्ने टिमको तयारी छ।