काठमाडौँ- संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक-२०८० संसद्को जारी हिउँदे अधिवेशनबाट शिक्षा ऐनको रूपमा आउनुपर्ने मुख्य माग राखेर नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शुक्रबार चरणबद्ध आन्दोलन घोषणा गरेको छ। संसद् बैठकको अघिल्लो दिन सरकार र दलहरूलाई दबाब दिन आन्दोलन घोषणा गरिएको शिक्षकहरूले बताएका छन्।
महासंघको बुधबार र बिहीबार काठमाडौँमा बसेको बैठकले शिक्षक, कर्मचारी, विद्यार्थीलगायतका विषयमा सरकारसँग यसअघि गरिएका सहमतिअनुसार यथाशीघ्र शिक्षा ऐन जारी गर्न आन्दोलन गर्ने निर्णय गरेको थियो। महासंघले बैठकको निर्णय शुक्रबार पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको हो।
आन्दोलनका कार्यक्रमअन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुकवालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेख्नेछन्। माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
माघ २५ गते स्थानीय स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने तय भएको छ। माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिबीच अन्तर्क्रिया कार्यक्रम गर्ने र शिक्षक कर्मचारीका माग मुद्दा तथा आन्दोलनको आवश्यकताबारे सुसूचित गराउने कार्यक्रम छ।
माघ ३० गते बुधबार दिउँसो पालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारासहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुस/प्रदर्शन गरिने छ। जिल्लास्तरका कार्यक्रमअन्तर्गत माघ २६ गते हरेक जिल्लामा आन्दोलन परिचालन समिति गठन गरिनेछ। फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइने छ।
फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसदलाई सरकार र महासंघबीच भएका विगतका सबै सहमती समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।
प्रदेश तहअन्तर्गत फागुन ७ गते प्रदेशस्तरको आन्दोलन परिचालन समिति गठन गरिने छ। फागुन ९ गते देशका ७ वटै प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीसमक्ष ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय भएको छ।
राष्ट्रिय तहको कार्यक्रमअन्तर्गत माघ १८ गतेदेखि फागुन १० गतेसम्म विभिन्न सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम छ। सबै राजनीतिक पार्टीका संसदीय दलका प्रमुख सचेतकलाई भेटेर आन्दोलनबारे जानकारी गराउने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति, शिक्षामन्त्रीलाई समेत आन्दोलनबारे जानकारी पत्र बुझाउने कार्यक्रम छ।
सबै राजनीतिक दलका प्रमुख, महासचिवलाई भेटेर आन्दोलनको जानकारी गराउने, सभामुखलाई आन्दोलन र त्यसको उद्देश्यबारे लिखित जानकारी गराउने कार्यक्रम समेत तय भएका छन्। त्यस्तै प्रधानमन्त्रीलाई समेत आन्दोलनबारे ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम महासंघको छ। अभिभावक महासंघ, विद्यालय व्यवस्थापन समिति महासंघ, विद्यार्थी संघसंगठनहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
फागुन १७ गते काठमाडौँमा कालोपट्टीसहित जुलुस प्रदर्शन तथा खबरदारीसभा गर्ने कार्यक्रम तय महासंघले गरेको छ। फागुन १९ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। दोस्रो चरणको आन्दोलनको कार्यक्रममा राजधानीमा सांगठनिक शक्ति प्रदर्शन, असहयोग, अवज्ञा तथा अवरोधजन्य कार्यक्रम ल्याइने महासंघले जनाएको छ।
आन्दोलनका क्रममा ‘हाम्रो आन्दोलन जारी छ’, ‘हाम्रा माग सम्बोधन हुने गरी यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’, नेपाल शिक्षक महासंघ जिन्दाबाद जस्ता नारा तय भएका छन्।