काठमाडौँ- इजरायल र हमासबीच गाजामा युद्धविरामसँगै नेपाली कामदारका लागि रोजगारीमा जाने बाटो खुलेको छ। इजरायल र हमासबीच युद्धविराम भएसँगै नेपाली कामदार पठाउने बाटो खुलेको वैदेशिक रोजगार विभागका इजरायल शाखाका निर्देशक गिरीराज ज्ञवालीले जानकारी दिए।
उनका अनुसार वैकल्पिकसहित २ हजार १ सय १२ जनामध्ये लट्रीमार्फत छनोट भएका एक हजार जनालाई माघ महिना देखि पठाउने काम सुरु हुन्छ। यसका लागि गत साता नै स्वास्थ्य परीक्षण सुरु गरिएको उनले बताए। ‘मेडिकल र अभिमुखिकरण लिएर इजरायल पठाएर रोष्टर बनाइने छ। यो काम अर्को साताभित्र हुन्छ। रोष्टरमा रहेका नेपाली ३ महिनाभित्र इजरायल पठाइने छ।’ उनले भने।
पहिलो चरणमा ४ सय पुरुष र ६ सय महिला पाइन्छ। इजरायल जाने युवाका लागि स्वास्थ्य परीक्षण गर्न उपत्यकाका ५ वटा स्वास्थ्य संस्था तोकिएको छ। इजरायल र हमासबीच तनाव युद्ध बढ्दै गएपछि सरकारले गत वर्षदेखि इजरालय कामदार पठाउन रोकेको थियो। इजरायल र हमास चलिरहेकै बेला नेपालमा इजरायल कामदार पठाउन परीक्षा सञ्चालन भएको थियो।
नेपालस्थित इजरायली दूतावासले जान मिल्ने आशयको पत्र पठाएका कारण सबै कामदारलाई ३ महिनाभित्रको मेडिकल म्यादमा पठाउने तयारी भइरहेको विभागले जनाएको छ।
इजरायलमा हाल १ हजार १ सय जीटूजी कामदारसहित ४ हजार २ सयभन्दा बढी नेपाली छनोट भएका छन्। हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको छ। यो अवधिमा इजरायल रोजगारीमा जान भाषा उर्त्तीण गरेका करिब २ हजार कामदार रोकिएका थिए।