काठमाडौँ- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।
पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आज (सोमबार) प्रहरी प्रधान कार्यालय नक्सालमा उनले संगठनको विकास र सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका हुन्।
पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले संगठनको छवि उच्च गर्न र बृहत्तर हितका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कडायत र रवीन्द्र केसी, प्रहरी नायब महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरूण पौडेल र गोविन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।