काठमाडौँ- रसुवा बाढीपछि क्षतिग्रस्त भएका तुइन तथा झोलुंगे पुलको मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइएको छ । हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको तथा थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना तथा गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ स्थित हाकुबेंसीमा तुइन सञ्चालनमा ल्याइएको हो ।
थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलमा सहमति जुटेको छ । स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने माइन एरिया भएकाले स्थान परिवर्तन गर्नुपर्ने भएको छ । यस्तै, रसुवाको रुङ्गामा तुइन जडानका लागि रेकी भइरहेको छ ।
बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि सम्पन्न हुने चरणमा पुगेको मन्त्रालयले जनाएको छ । धादिङ, नुवाकोट र गोरखाका विभिन्न स्थानमा रहेका ती पुलको मर्मत भइरहेको हो ।
मन्त्रालयका अनुसार बाढीबाट क्षतिग्रस्त थप सात वटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत सुरु भएको छ । ती पुलका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न टेन्डर भइसकेको छ । झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्सको पहिलो चरणको खरिद सम्पन्न भइसकेको र दोस्रो चरणका लागि सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणको तयारी अघि बढाइएको छ । ती पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य अन्तिम तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।


