भूकम्प अपडेट : ५३ जनाको मृत्यु, ६२ घाइते

हिमाल प्रेस २३ पुष २०८१ १३:०७
18
SHARES
भूकम्प अपडेट : ५३ जनाको मृत्यु, ६२ घाइते चीनको तिब्बतमा मंगलबार गएको भूकम्पछि उद्धारका लागि खटिएका उद्धारकर्मी। तस्बिर : सिन्हवा/रासस

काठमाडौँ- दक्षिणपश्चिमी चीनको  डिंग्री काउन्टीमा केन्द्रबिन्दु बनाएर मंगलबार बिहान  गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार भूकम्पमा परी  ६२ जना घाइते भएका छन्। क्षतिको विवरण संकलन भइरहेकाले मृतक र घाइतेका संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ। भूकम्पका कारण चाङसुओ क्षेत्रका गाउँमा घर भत्किएका छन्। उद्धारका लागि सुरक्षाकर्मी र स्वयंसेवकहरू परिचालन भएका छन्।

भूकम्पको धक्का नेपालसहित उत्तरी भारतमा समेत महसुस गरिएको छ। नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८  म्याग्निच्युड मापन गरेको छ।

चीनबाहेक अन्य क्षेत्रमा मानवीय क्षति भने नभएको सञ्चारमाध्यमले जनाएका छन्। नेपालका काठमाडौँसहित पूर्वी जिल्लामा भूकम्पको महसुस गरिएको छ। विभिन्न जिल्लामा केही भवनमा सामान्य क्षति पुगे पनि अन्य विवरण प्राप्त भएको छैन।

समाचार एजेन्सी एपीका अनुसार मंगलबारको भूकम्प पछिल्ला वर्षमा चीनमा गएका सबैभन्दा घातक भूकम्पमध्ये एक हो। चीनमा भूकम्पहरू प्रायः तिब्बती पठार वा यसको छेउछाउ क्षेत्रमा बढी जान्छन्। यसलाई भूकम्पीय गतिविधिले सक्रिय क्षेत्र मानिन्छ।  सन् २००८ मेमा चीनको सिचुआन प्रान्तमा ७.९ म्याग्निच्युडको भूकम्पले लगभग ९० हजार मानिसको ज्यान लिएको थियो।

यसैबीच चीनका राष्ट्रपति सी जिनपिङले  भूकम्प प्रभावित क्षेत्रमा सबै प्रकारको उद्धारका प्रयासमा तीव्रता दिन आदेश दिएका छन्। उनले घाइतेहरूको उपचारमा सक्रिय हुन पनि आदेश दिएको सिन्हवाले जनाएको छ। सीले प्रकोप रोक्न, प्रभावित बासिन्दालाई उपयुक्त रूपमा पुनर्स्थापित गर्न र विपत्तिपछि भएको कामलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न पनि आह्वान गरेका छन्।

राष्ट्रपति सीले आपत्‌कालीन उद्धार सामग्री चाँडो आपूर्ति गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्यलाई तीव्रता दिन, पीडितका आधारभूत आवश्यकताहरू पूरा गर्न र सबैका लागि सुरक्षित आवश्यक रहेको बताएका छन्।

 

प्रकाशित: २३ पुष २०८१ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast