काठमाडौँ- बसको ठक्करले सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका–९ बीओपी छतौनामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अन्दाजी ४२ वर्षीय विजयकुमार तुलाधरको मृत्यु भएको हो।
बीओपीअगाडि ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरलाई बा.प्र.०१–००६ ख २००४ नम्बरको बसले गएराति सवा ९ बजेतिर ठक्कर दिएको थियो।
बसको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा राति १० बजेतिर मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी अशोक श्रेष्ठले जानकारी दिए।
सशस्त्र प्रहरी निरीक्षक तुलाधारलाई ठक्कर दिएको बस अनियन्त्रित भएर पल्टिएको थियो।
बसका चालक र सहचालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रकाशित: १७ पुष २०८१ ९:५५
प्रतिक्रिया