जनकपुरधाम- नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणको विजेता जनकपुर बोल्ट्स टिमले जनकपुरमा ‘ट्रफी परेड’ निकालेका छन्।
एनपीएलको उपाधि हात पारेको खुसीमा शुक्रबार जनकपुरमा खेलाडीसहित ‘ट्रफी परेड’ निकालिएको हो। मधेश प्रदेश क्रिकेट संघ, नागरिक समाज, खेलप्रेमीलगायतको सहभागितामा परेड निकालिएको हो। परेडमा मुख्यमन्त्री सतिशकुमार सिंह पनि सहभागी भएका छन्।
जनकपुरधाम–१४ रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरू भएको परेड थापा चोक, पिडारी चोक, रामानन्द चोक, जिरोमाइल, विश्वकर्मा चोक, राम चोक हुँदै जानकी मन्दिर परिसरमा पुगेर सम्पन्न हुनेछ।
परेडमा जनकपुर बोल्ट्सका खेलाडी, व्यवस्थापकका साथै सयौंको संख्यामा स्थानीयवासी सहभागी छन्। गाडीमा खेलाडीहरूलाई राखेर निकालिएको परेडलाई ठाउँठाउँमा स्थानीयवासीहरूले स्वागत गरिरहेका छन्।
जनकपुर बोल्ट्सका व्यवस्थापकले जितको खुसीमा मधेश प्रदेशका आठवटै जिल्लामा ‘ट्रफी परेड’ निकाल्ने तयारी गरेको छ। जनकपुरपछि महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा परेड निकाल्ने तयारी रहेको जनकपुर बोल्ट्सका कार्यकारी निर्देशक निरज खतिवडाले बताएका छन्।
पर्सापछि मधेश प्रदेशका पूर्वका जिल्लाहरू सिरहा र सप्तरीको राजविराजमा परेड निकालिने उनले बताए। राजविराजपछि अन्त्यमा पुनः जनकपुर पुगेर ‘ट्रफी परेड’ को कार्यक्रम सकिने खतिवडाको भनाइ छ।
‘ट्रफी परेड’ मा सहभागी हुने जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहसहित आसिफ शेख, ललित राजवंशीलगायतका खेलाडीहरू बिहीबार राति जनकपुर पुगेका थिए।
६ पुसमा कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपीएल पहिलो संस्करणको च्याम्पियन बन्न सफल भएको थियो।