काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्कीबाट काठमाडौँ आज (बिहीबार) ल्याइएको छ। उनलाई हवाई मार्ग भएर काठमाडौँ ल्याइएको हो।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौँ ल्याइएको हो। उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा अनुसन्धानका क्रममा उनी हिरासतमा छन् ।
गएको कात्तिक २ गते उनलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो । उनीविरुद्ध चितवनको सहारा सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप पनि छ। उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। काठमाडौँमा बयान लिएसँगै लामिछानेलाई पोखरा लगेर चितवन लैजाने तयारी छ।