काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अयोध्या भ्रमणप्रति सत्ता गठबन्धनकै दलले असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्री सिंह सरकारसँग समन्वय नगरी अयोध्या गएको भन्दै सत्ता साझेदार नेपाली कांग्रेसले असन्तुष्टि जनाएको हो।
प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि सिंहको अयोध्या भ्रमणप्रति असन्तुष्ट देखिएको छ। प्रक्रिया नपुर्याई अयोध्या पुगेर मुख्यमन्त्री सिंहले देश र प्रदेशको गरिमा गिराउने काम गरेको आरोप दुवै दलको छ।
रामजानकी विवाहोत्सवका अवसरमा विश्व हिन्दु परिषद् धनुषाले आयोजना गरेको तिलकोत्सव कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री सिंह आइतबार अयोध्या गएका हुन्।
भारतको उत्तर प्रदेश सरकार र अयोध्यास्थित राम मन्दिरबाट निमन्त्रणा नआई मुख्यमन्त्री सिंह त्यहाँ पुगेर देश र प्रदेशको स्वाभिमानमा धक्का लगाउनुका साथैै गरिमा गिराउने काम गरेको आरोप कांग्रेस र जसपा नेपालको छ।
अयोध्या जानुपूर्व मुख्यमन्त्री सिंहले गठबन्धन दलसँग छलफलसमेत गरेका छैनन्। छलफल नगरी अयोेध्या गएपछि सत्ता साझेदार प्रमुख दल कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्री सिंह अयोध्या भ्रमणमा गएको विषयमा गठबन्धनमा जानकारी नभएको बताए। समाचार पढेर मुख्यमन्त्री सिंह अयोध्या पुगेको थाहा पाएको उनको भनाइ छ।
‘यस विषयमा कुनै जानकारी छैन। गठबन्धनभित्र पनि छलफल भएको छैन,’ यादवले हिमालप्रेससँग भने, ‘उता पुगिसकेपछि हामीले थाहा पाएका हौँ, निमन्त्रणा आएको छ कि छैन त्यो पनि थाहा भएन।’
उनले मुख्यमन्त्री सिंह भारतको उत्तर प्रदेश सरकारको निमन्त्रणाविना अयोध्या पुगेर प्रदेशलाई अपहेलना गराउने काम गरेको आरोप लगाए। यादवले भने, ‘प्रदेशलाई अपहेलना गराउनुभएको छ। अपमानित र अपहेलित महसुस गरिरहेका छौँ। मुख्यमन्त्रीको मात्रै होइन प्रदेशकै अपमान भएको छ।’
नेता यादवले यस विषयमा गठबन्धनमा गम्भीरताका साथ छलफल हुने बताए। ‘उहाँ अयोध्या जाँदा उत्तर प्रदेश सरकारका कुनै प्रतिनिधि देखिएनन, कहीँकतै स्वागत भएको पनि थाहा पाइएन,’ उनले भने, ‘प्रदेशकै साख गिराउने काम गर्नुभएको छ। उहाँ आइसकेपछि यस विषयलाई गठबन्धनभित्र गम्भीरताका साथ उठाउनेछौँ।’
कांग्रेस संसदीय दलका उपनेता एवं पूर्वमन्त्री वीरेन्द्रप्रसाद सिंहले पनि मुख्यमन्त्री सिंहको अयोध्या भ्रमण स्वाभिमानविरुद्ध भएको प्रतिक्रिया दिए।
आधिकारिक निमन्त्रणा नआउँदासम्म प्रदेशका मुख्यमन्त्री वा मन्त्री विदेश भ्रमणमा जानु ठिक नभएको उनको भनाइ छ। उत्तर प्रदेश सरकारको कुनै प्रतिक्रिया नदेखिनुले मुख्यमन्त्री सिंह विनानिमन्त्रणा त्यहाँ पुगेको प्रस्ट भएको सिंहले बताए।
‘उत्तर प्रदेश सरकारको कुनै चासो देखिएन। उता (भारत) बाट आधिकारिक निमन्त्रणा नआएजस्तो छ,’ उनले भने, ‘स्वाभिमान कमजोर गर्ने क्रियाकलाप भएको छ, डोमिनेट भएको अनुभव भएको छ।’
प्रदेशका मुख्यमन्त्री वा मन्त्री विदेश भ्रमणमा जाँदा परराष्ट्र मन्त्रालयसँग सहमति लिनुपर्ने व्यवस्था छ। प्रदेश मन्त्रिपरिषद्का करिब आधा दर्जन सदस्यसहित अयोध्या गएका मुख्यमन्त्री सिंहले परराष्ट्र मन्त्रालयसँग कुनै सहमति लिएका छैनन्। परराष्ट्रसँग समन्वय नगरी अयोध्या पुगेपछि उत्तर प्रदेश सरकारले मुख्यमन्त्री सिंहको भ्रमणप्रति चासो नदेखाएको हो।
जसपा नेपालका प्रवक्ता मनीष सुमन मुख्यमन्त्री सिंहको अयोध्या भ्रमणको शैलीले प्रदेशकै बेइज्जत भएको बताए। संघीय सरकारमार्फत भारत सरकारसँग समन्वय नगरी अयोध्या भ्रमणमा गएर मुख्यमन्त्रीले प्रदेश र देशको बेइज्जत गर्न लगाएको उनको भनाइ छ।
‘न संघीय सरकारसँग समन्वय गरिएको छ, न भारत सरकारलाई केही जानकारी छ,’ सुमन भन्छन्, ‘सतिशकुमार सिंह कुनै व्यक्तिमात्रै होइन, मुख्यमन्त्री हुनुहुन्छ। सरकारी तहमा समन्वय नभएकै कारण स्वागतसत्कार केही भएको छैन। प्रदेश र देशको गरिमा गिराउने काम गर्नुभएको छ।’
परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर गएको अवस्थामा मात्रै प्रदेश र देशको इज्जत हुने उनले जिकिर गरे। आधा दर्जनभन्दा बढी मन्त्रीलाई बोकेर अयोध्या भ्रमणमा जानु कामविहीन मुख्यमन्त्रीले मात्र गर्न सक्ने सुमनले बताए।
‘स्वागतसत्कार नहुनुमा भारतको दोष होइन, मुख्यमन्त्रीजीको दोष हो,’ सुमनले भने, ‘मुख्यमन्त्रीको भ्रमणबारे आधिकारिक रूपमा भारत वा उत्तर प्रदेश सरकारलाई जानकारी गराइएको छैन। हास्यास्पद काम भएको छ, जानैपर्ने भए प्रोटोकल मिलाएर गए भइहाल्थ्यो नि।’
अवैधानिक तरिकाबाट अयोध्या भ्रमण गरेर मुख्यमन्त्री सिंहले परम्परा तोड्नुका साथै नेपाल-भारत सम्बन्धमा धक्का लगाउने कामसमेत गरेको सुमनको आरोप छ। ‘लुकेर किन जानुपर्यो? सरकारसँग समन्वय गरेर गए भइहाल्थ्यो,’ उनले भने, ‘आधिकारिक रूपमा गएको भए त्यहाँ भव्य स्वागत हुने थियो, केही पनि देखिएन।’
यसअघि कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र मधेश प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला राज्यमन्त्री सरोजसिंह कुश्वाहा अयोध्या पुग्दा उत्तर प्रदेश सरकारले देखाएको चासो र स्वागत स्मरणीय रहेको उनले बताए।
‘कांग्रेस नेता विमलेन्द्र निधि र पूर्वराज्यमन्त्री सरोजसिंह कुश्वाहा अयोध्या पुग्दा भव्य स्वागत भएको अझै हामीलाई स्मरण छ। उहाँहरू सरकारसँग समन्वय गरेर त्यहाँ पुग्नुभएको थियो,’ सुमन भन्छन्, ‘सरकारसँग समन्वय नगरी अयोध्या पुगेर मुख्यमन्त्रीले स्टन्ट गर्नुभएको छ।’
उनले मुख्यमन्त्री आफूसहित आधा दर्जन मन्त्री लिई अयोध्या भ्रमणमा लगेर प्रदेश सरकारमाथि अनावश्यक खर्च थुपार्ने काममात्र गरेको जिकिर गरे। विश्व हिन्दु परिषद् धनुषाको आयोजनामा सोमबार अयोध्याको रामसेवकपुरममा सम्पन्न तिलकोत्सव कार्यक्रममा मुख्यमन्त्री सिंहले विवाहपञ्चमीमा सहभागी हुन भारतीय पक्षलाई निमन्त्रणा दिएका थिए।
सिंहले श्रीराम मन्दिर ट्रस्ट अयोध्याका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्। रामजानकी विवाहोत्सवका अवसरमा अयोध्यामा पहिलोपटक तिलकोत्सव कार्यक्रम मनाइएको हो।
मिथिला परम्पराअनुसार विवाहपूर्व तिलकोत्सव विधि हुने गरेको छ। विवाहपञ्चमीको अवसरमा जनकपुरधामस्थित राम मन्दिरमा तिलकोत्सव कार्यक्रम हुँदै आएको छ। जानकी मन्दिरका महन्त राजा जनक र राम मन्दिरका महन्त दशरथको भूमिकामा बसेर तिलकोत्सव मनाउने परम्परा रहेको छ।
यसपालि अयोध्या पुगेर तिलकोत्सव मनाइएकाले जनकपुरधामको राम मन्दिरमा हुँदै आएको कार्यक्रमबारे अन्योल देखिएको छ। यद्यपि वर्षौँदेखि चलिआएको तिलकोत्वस कार्यक्रम यसपालि पनि राम मन्दिरमा मनाइने स्थानीय महावीर युवा कमिटीका पदाधिकारीहरूले बताएका छन्।
परराष्ट्रबाट सहमति नलिई अयोध्या पुगेका मुख्यमन्त्री सिंहले बाँडे विवाहपञ्चमीको निमन्त्रणा