उपनिर्वाचनमा पनि गठबन्धनकै पक्षमा एकीकृत समाजवादी

हिमाल प्रेस २८ कार्तिक २०८१ ११:५२
18
SHARES
उपनिर्वाचनमा पनि गठबन्धनकै पक्षमा एकीकृत समाजवादी माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरूसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ।

समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो संगठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा सांगठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो।

पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रूपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए।

नेकपा माओवादी केन्द्रलगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ। त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुंगो लगाइनेछ।

करिब एक लाख ५० हजार संगठित सदस्य रहेको पार्टीले संगठन सुदृढीकरणमा अनुभव तथा योगदान गरेका नेता एवं कार्यकर्तालाई उम्मेदवार सिफारिस गर्न कमिटीलाई निर्देशन दिएको छ। सत्तारुढ दलहरूसँग गठबन्धन नगर्ने पार्टीले जनाएको छ। स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ।

आगामी मंसिर १६ गते हुने जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ। यसअघिका सबै निर्वाचनमा समाजवादीले गठबन्धन गरेको थियो।

प्रकाशित: २८ कार्तिक २०८१ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast