लुम्बिनी- रास्वपाका सभापति रवि लामिछानेको बयान बुधबार पनि हुने भएको छ। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनको अभियोग बयानका लागि पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलबार कास्कीबाट रुपन्देही ल्याइएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा दिउँसो सवा १ बजेदिख सुरु भएको बयान साँझ ४ः५० बजे लिइएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए। उनका अनुसार मंगलबार प्रारम्भिकरूपमा बयान लिइएको र बुधबार १० बजेपछि सुरु गरिने छ।
इलाका प्रहरी कार्यालयमार्फत् अभियोजन गरिएको मुद्दाका सन्दर्भमा सरकारी वकिल कार्यालयमा बयान लिएको हो। तर लामिछानेले इन्कारी बयान दिएको प्रहरी अधिकारीहरूले बताएका छन्।
लामिछानेले आफू सदस्यनै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएका छन्। सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड रुपैयाँ ऋण लगेको देखिएको छ।
बयान दिएर फर्कने क्रममा लामिछानेले हात हल्लाउँदै ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन’ भनेका थिए। उनले सञ्चारकर्मी र आफ्नो सर्मथकलाई हात हल्लाउँदै त्यति मात्रै बोलेका हुन्।
प्रहरीले रवि बोल्नासाथ हस्तक्षेप गरेका थिए। लामिछानेको मंगलबार नै बयान सकाएर पोखरा लैजाने प्रहरी तयारी थियो। तर बिहान उडानका लागि मौसम अनुकूल नभएपछि विमानबाट ल्याउँदै ढिलाइ भएकाले बुधबारसम्म बयान लम्बिने भएको हो।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिने रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिए। उनले बुधबार सरकारी कार्यालय समयमा बयान लिइने बताए।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै रास्वपाका कार्यकर्तादेखि प्रर्दशन गरेका छन्। सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।