रविलाई बयानका लागि लगियो रूपन्देही

विनोद परियार २७ कार्तिक २०८१ १२:३३
16
SHARES
रविलाई बयानका लागि लगियो रूपन्देही रवि लामिछाने। फाइल तस्बिर

लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको छ। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनको अभियोगमा बयानका लागि  उनलाई पोखराबाट बुद्ध एयरको जहाजमा रुपन्देही ल्याइएको हो।

सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका  उनलाई सुप्रिमको रकम ठगी प्रकरणमा बयानका लागि ल्याइएको रूपन्देही प्रहरीले जनाएको छ।

सभापति लामिछानेलाई बिहान ७:४५ बजेको उडानमार्फत भैरहवा ल्याउने भनिए पनि गौतमबुद्ध विमानस्थलको मौसम खराबीका कारण ढिला गरी १२:२० बजे मात्रै रुपन्देही ल्याइएको हो।

उनलाई इलाका प्रहरी कार्यालय बुटवलमार्फत अभियोजन गरिएको मुद्दाका सन्दर्भमा सरकारी वकिल कार्यालय भैरहवामा बयान गर्न लगिने प्रहरीले जनाएको छ। रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ। विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्क लगेर अपचलन गरेको अभियोगमा लामिछानेविरुद्ध अनुसन्धान जारी छ।

सुप्रिमबाट गोर्खा मिडियाका नाममा २ करोड ऋण प्रवाह भएको छ। लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक हुन्।

लामिछानेलाई रुपन्देही ल्याउने भएपछि रास्वपा कार्यकर्ता बिहानैदेखि भैरहवामा भेला भएका छन्। भैरहवाको लुम्बिनी गेटमा प्रदर्शन गर्ने रास्वपाले जनाएको छ। रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकले सबै समर्थकलाई बुद्धचोकमा प्रदर्शनका लागि बोलाइएको बताए। सुप्रिमबाट लामिछाने र जीवी राईसमेतबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २७ कार्तिक २०८१ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast