चितवन- भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ।
केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो। योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए। अक्षयकोषका लागि ११ हजार एक सय रुपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रुपैयाँको संरक्षक सदस्य बनाइएको छ।
४५ जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन्। विसं २०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो। कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ। यो तिहारमा १८ लाख रुपैयाँभन्दा बढी संकलन भएको उनले बताए।
गौँ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ। ती गाई पाल्न कोष स्थापना गरिएको हो। केन्द्रका पूर्वसंयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए।
दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन्। योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको छ। केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ।