गुल्मीका विद्यार्थीले उत्पादन गरेको फूलको माला तीन सयका दरले बिक्री

हिमाल प्रेस १५ कार्तिक २०८१ १६:५६
20
SHARES
गुल्मीका विद्यार्थीले उत्पादन गरेको फूलको माला तीन सयका दरले बिक्री

गुल्मी- चन्द्रकोट गाउँपालिका–८ स्थित तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीले तिहारका लागि फूल उत्पादन गरेका छन्। उक्त शिक्षालयमा तीनवर्षे डिप्लोमा कृषि बाली विषय अध्ययनरत विद्यार्थीले सयपत्री र मखमली फूलको बगैँचा तयार गरेका हुन्।

उक्त बगैँचाले मजुवा बजारकै शोभा बढाएको छ। सीटीईभीटीसँगको सम्बन्धनमा २०७८ सालमा स्थापित उक्त शिक्षालयले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले १० रोपनी जग्गा भाडामा लिएर कृषि अभ्यास गराउँदै आएको छ।

कृषिलाई उद्यमशीलतासँग जोड्ने र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत विभिन्न अभ्यास गर्दै आएको शिक्षालय प्रमुख प्रदीपराज पाण्डेले बताए। उत्पादन मात्रै नभएर बजारसँग जोड्न चाडपर्व लक्षित मखमली र सयपत्री फूल रोपिएको उनले बताए। तीन रोपनीमा फूल र सात रोपनीमा तरकारी लगाइएको छ।

बगैँचामा उत्पादित फूलको माग धेरै छ। स्थानीय बजारसँगै बुटवल, नवलपरासी र चितवनमा समेत फूल बिक्रीका लागि पठाएको शिक्षालयमा कार्यरत कृषि प्राविधिक रोशनी बन्जाडेले जानकारी दिइन्।

हाल प्रतिमाला तीन सयका दरले बिक्री भइरहेको छ। शिक्षालयले उत्पादन गरेको तरकारी विद्यार्थी, प्रशिक्षक र कर्मचारीलाई बजारको मूल्यभन्दा ५० प्रतिशत कममा उपलब्ध गराउने गरिएको छ। बजार मूल्यभन्दा २० प्रतिशत कममा तरकारी बजारमा पनि बिक्री गर्ने गरिएको शिक्षालयले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८१ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =