शैक्षिक नतिजा सुधार गर्न काठमाडौँ महानगरको ‘फेस्टिभल क्याम्प’

हिमाल प्रेस २ कार्तिक २०८१ ९:५३
18
SHARES
शैक्षिक नतिजा सुधार गर्न  काठमाडौँ महानगरको ‘फेस्टिभल क्याम्प’

काठमाडौँ- कक्षा १० का विद्यार्थीको शैक्षिक नतिजा सुधारका लागि काठमाडौँ महानगरपालिकाले दसैँ र तिहार अवधिमा ‘फेस्टिभल क्याम्प’ गर्ने भएको छ।

क्याम्पमा सहभागी हुन २ हजार २७७ जना विद्यार्थीले चासो देखाएका छन्। सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार ११ वटा स्रोत केन्द्र र एसईई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालय गरी १६ वटा विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्रका रूपमा उपयोग गरिनेछ।

क्याम्पका लागि कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ। विद्यार्थीलाई क्याम्पमा सहभागी हुन अनिवार्य गरिएको छैन। एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना विद्यार्थीलाई सहभागी गराइनेछ। गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्नेछन्।

स्टिम शिक्षाशास्त्रको सिद्धान्त, ई–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन्। कक्षा १० का विद्यार्थीलाई अध्ययनप्रति रुचि जगाउनु कार्यक्रम सञ्चालनको मुख्य उद्देश्य हो। यस प्रकारको सिकाइबाट नतिजामा सुधार हुने अपेक्षित नतिजा हो।

नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिएका छन्। संघीय सरकारको मापदण्डबमोजिम ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खाजाको सुविधा उपलब्ध गराउने रकम दोब्बर गरी गरिएको छ।

सामुदायिक विद्यालयको कक्षा १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाका रुपमा सन्तुलित आहारका लागि रकमको व्यवस्था गरिएको छ। पुस्तकविहिन शुक्रबार (बुक फ्री फ्राइडे) ले विद्यार्थीलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ।

प्रकाशित: २ कार्तिक २०८१ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =