मधेशमा सम्भव छ कांग्रेसको नेतृत्वमा सरकार?

हिमाल प्रेस ९ असोज २०८१ १७:५२
12
SHARES
मधेशमा सम्भव छ कांग्रेसको नेतृत्वमा सरकार? सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणापत्र बुझाउँदै मधेशका कांग्रेस नेताहरू

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेसँगै नेपाली कांग्रेसले मधेश प्रदेशमा आफ्नो नेतृत्वको सरकारका लागि पहल सुरू गर्‍यो।

प्रदेशसभाको दोस्रो ठूलो दल भएकाले पनि सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने दाबी प्रदेश तहका नेतृत्वले साझेदार दलहरूमाझ गरेको थियो। सरकारको नेतृत्वका लागि प्रदेश नेतृत्वको दाबी पर्याप्त थिएन, सत्ता गठबन्धनमा सहमति जरूरी थियो।

शीर्ष नेतृत्वबीच भएको छलफलमा भने मधेश सरकारको नेतृत्व मधेश केन्द्रित दललाई नै दिने सहमति जुट्यो। र, त्यही सहमतिअनुसार जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व पायो।

जनमत पार्टीका नेता सतिशकुमार सिंह नेतृत्वको सरकारमा कांग्रेस, एमाले, लोसपालगायतका दलहरू सहभागी छन्। सिंह नेतृत्वको सरकारले बुधबार सय दिन पूरा गरेको छ। सय दिनका अवधिमा आफ्नो नेतृत्वको सरकारले हासिल गरेका प्रगतिहरू मुख्यमन्त्री सिंहले बुधबार नै सार्वजनिक गरेका छन्।

सिंहले सयदिने प्रगति सर्वाजनिक गरेकै दिन कांग्रेस मधेशले फेरि एकपटक आफ्नो नेतृत्वको सरकारका लागि प्रयास थालेको छ। प्रदेश तहका नेताहरूले आफ्नो नेतृत्वको सरकारका लागि शीर्ष नेतृत्वमाथि दबाब दिएका हुन्।

पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन पर्सा पुगेका सभापति शेरबहादुर देउवालाई प्रदेशका नेताहरूले मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्न ध्यानाकर्षण बुझाएर दबाब दिएका छन्।

कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले प्रदेशका आठवटै जिल्लाका नेताहरूले सभापति देउवालाई भेटेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्न ध्यानाकर्षणपत्र बुझाएको बताए।

‘आठवटै जिल्लाका नेताहरूसँग सभापतिज्यूको भेट भएको छ, लामै छलफल भयो,’ यादवले भने,‘सबै साथीहरूले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गरिदन ध्यानाकर्षण गराउनु भएको छ।’

प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवले २०७४ सालको निर्वाचनपछि पटक–पटक सरकार फेरिए पनि मधेशमा कांग्रेसले नेतृत्व गर्न नसकेकोतर्फ देउवाको ध्यानाकर्षण गराएको बताए।

‘मधेश कांग्रेसका लागि उर्वरभूमि हो, हरेक आन्दोलनदेखि चुनावमा मधेशले कांग्रेसलाई साथ दिएको छ,’ उनले भने,‘चुनावकै नतिजा हेर्ने हो भने सबैभन्दा बढी लोकप्रिय मत कांग्रेसले मधेशबाटै पाउने गरेको छ। तर, कांग्रेसले अहिलेसम्म यहाँ सरकारको नेतृत्व गर्न सकेको छैन।’

यादवका अनुसार मधेशमा कांग्रेसको नेतृत्वमा सरकारका लागि पहल गर्न प्रदेशका नेताहरूले दिएको सुझावमा सभापति देउवा सकारात्मक देखिएका छन्।

प्रदेशका नेताहरूसँगको भेटमा उनले मधेशमा चाँडै कांग्रेसको नेतृत्वमा सरकार बन्ने विश्वास दिलाएको प्रदेश सभापति यादवले बताए।

‘मधेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न नसकेको ठीकै हो, तपाईंहरूले दिएको सुझाव एकदम जायज छ,’ देउवाको भनाई उद्धृत गर्दै प्रदेश सभापति यादवले भने,‘यो विषयमा म गठबन्धनभित्र छलफल गर्छु, मधेशमा चाँडै हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ विश्वास दिलाउँछु।’

सभापति देउवाले चाँडै मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने विश्वास दिलाएको उनले बताए।

प्रदेशसभाको पहिलो निर्वाचनपछि मधेशमा जसपा नेपालका लालबाबु राउतको नेतृत्वमा सरकार बनेको थियो। राउत नेतृत्वको सरकारले पाँच वर्षे कार्यकाल पूरा गरे पनि दोस्रो प्रदेशसभा निर्वाचनपछि जसपा नेपालकै सरोजकुमार यादव नेतृत्वको सरकार भने दुई वर्ष पनि टिक्न सकेन।

सत्तासमीकरण र गठबन्धनमा पटक–पटक भएको हेरफेरका कारण जसपा नेपाल सत्ताबाट बाहिरिएपछि मधेशमा अहिले जनमत पार्टीले सरकारको नेतृत्व गरिरहेको छ। गठबन्धनमै भए पनि कांग्रेसले सरकारको नेतृत्वका लागि निरन्तर प्रयास गरिरहेको छ।

 ‘कांग्रेसको सांगठनिक वा सरकार निर्माण संख्यात्मक भूमिकामा प्रदेशको योगदान महत्वपूर्ण रहेको यहाँलाई अवगतै छ। मुलुक संघीयतामा प्रवेशपश्चात यसको महत्व अझै वृद्धि हुँदै गएको छ। संघीय सरकार र विभिन्न प्रदेशहरूको सरकारको नेतृत्व गर्ने अवसर सभापतिज्यूकै सबल नेतृत्वका कारण कांग्रेसले प्राप्त गरिरहेको अवगत नै छ,’ कांग्रेस मधेश प्रदेश कार्यसमितिले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ,‘मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने विषय प्राथमिकतामा नपरेका कारण कांग्रेसका मतदाताहरूमा निराशा बढ्दै गएको हाम्रो ठहर छ। यही ठहरलाई मध्यनजर गरी कांग्रेसको नेतृत्वमा सरकार निर्माणमा प्राथमिकताका साथ पहल र अवसरका लागि ध्यानाकर्षण गराउने निर्णय भएको छ।’

७ असोजमा बसेको कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकले प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सरकार निर्माणमा प्राथमिकताका साथ पहल र अवसरका लागि सभापति देउवालाई ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ९ असोज २०८१ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =