मधेशमा ५४ प्रतिशत विकास बजेट खर्च

हिमाल प्रेस १ साउन २०८३ १८:५३ | Friday, July 17, 2026
8
SHARES
मधेशमा ५४ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ – मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ५७.४० प्रतिशत खर्च गरेको छ।

मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको खर्च प्रगति विवरणअनुसार प्रदेश सरकारले आव २०८२/८३ मा चालुतर्फ ६०.६९ प्रतिशत र पुँजीगततर्फ ५४.१२ प्रतिशत बजेट खर्च गरेको छ।

प्रदेश सरकारले आव २०८२/८३ का लागि चालुतर्फ १५ अर्ब ६३ करोड ८२ लाख २२ हजार र पुँजीगततर्फ ३१ अर्ब ३४ करोड ५१ लाख ३० हजार गरी कुल ४६ अर्ब ९८ करोड ३३ लाख ५२ हजार बजेट विनियोजन गरेको थियो।

त्यसमध्ये असार मसान्तसम्ममा चालुतर्फ नौ अर्ब ४९ करोड १६ लाख एक हजार र पुँजीगततर्फ १६ अर्ब ९६ करोड ५१ लाख ४९ हजार गरी कुल २६ अर्ब ४५ करोड ६७ लाख ५० हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयका तथ्यांक अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए।

तथ्यांक अधिकृत आचार्यका अनुसार प्रदेश सरकारको मन्त्रालयतर्फ सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७१.४५ प्रतिशत खर्च गरेको छ। यो मन्त्रालयले चालुतर्फ ७९.१४ प्रतिशत तथा पुँजीगततर्फ ५८.०१ प्रतिशत बजेट खर्च गरेको अधिकृत आचार्यले बताए।

त्यसैगरी प्रदेश लोकसेवा आयोगले ८४.४० प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ७३.०१ प्रतिशत, अर्थ मन्त्रालयले ६५.६८ प्रतिशत, प्रदेशसभा सचिवालयले ६५.६० प्रतिशत तथा वन तथा वातावरण मन्त्रालयले ६३.७६ प्रतिशत बजेट खर्च गरेको उनले जानकारी दिए।

प्रदेश सरकारको शिक्षा तथा संस्कृति कल्याण मन्त्रालयले ६०.८८ प्रतिशत र भौतिक पूर्वाधार विकास मन्त्रालयले ५८.६७ प्रतिशत बजेट खर्च गरेको छ।

यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले ५१.७७ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयले ४९.९१ प्रतिशत, गृह, सञ्चार तथा कानुन मन्त्रालयले ४८.९२ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४७.८७ प्रतिशत, खेलकुद तथा समाज कल्याण मन्त्रालयले ४६.१७ प्रतिशत तथा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले ४०.६५ प्रतिशत बजेट खर्च गरेको अधिकृत आचार्यले बताए।

अर्थ मन्त्रालयका अनुसार खर्च प्रगतिको आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सबैभन्दा कमजोर देखिएको छ। उक्त कार्यालयले कुल बजेटको ३७.०६ प्रतिशतमात्र खर्च गरेको छ।

मुख्यमन्त्री कार्यालयले चालुतर्फ ४०.३७ प्रतिशत र पुँजीगततर्फ १७.७९ प्रतिशतमात्र खर्च गरेको छ।

त्यसैगरी, प्रदेश नीति तथा योजना आयोगले ५४.०७ प्रतिशत खर्च गरेको छ भने कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा तथा अर्थ विविध शीर्षकमा असार मसान्तसम्म कुनै खर्च भएको देखिएको छैन।

समग्रमा हेर्दा चालु खर्चको तुलनामा पुँजीगत खर्च अझै कम रहेको देखिएको छ। यद्यपि आर्थिक वर्षको अन्त्यसम्म प्रदेश सरकारले कुल बजेटको आधाभन्दा बढी अर्थात् ५६.३१ प्रतिशत खर्च गर्न सफल भएको अर्थ मन्त्रालयको तथ्यांले देखाएको छ।

अघिल्लो सरकारले घाटा बजेट ल्याएको, गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, पटकपटक सरकार परिवर्तन भएकोजस्ता कारणले आधामात्र बजेट खर्च भएको मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले बताए।

ढिलै भए पनि प्रदेश सरकारका योजना तीव्र रूपमा कार्यान्वयन भएकाले आर्थिक वर्षको अन्तिमसम्ममा प्रदेश सरकारको खर्च ५६ प्रतिशतभन्दा बढी हुनु सन्तोषजनक भएको उनको भनाइ छ।

प्रकाशित: १ साउन २०८३ १८:५३ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast