काठमाडौँ- समकालीन राजनीतिमा ‘भाग्यमानी’ नेतामा गनिन्छन् नारायणकाजी श्रेष्ठ। विगत दुई दशकयता सत्तामा र दलको नेतृत्वमा सदाबहारजस्तै देखिने यी नेता कुनै बेला ‘प्रकाश’ उपनामले अर्धभूमिगत राजनीति गर्थे। उनका समकालीनहरू भन्ने गर्छन्, खुला राजनीतिमा आएपछि नारायणकाजीको त्यो ‘प्रकाश’ मा बादल लाग्न सकेको छैन।
माओवादीको दसवर्षे सशस्त्र संघर्षमा नारायणकाजी सामेल थिएनन् तर त्यही दलमा मिसिएर लाभको पदमा पुगिरहेका छन्। अर्को कुरा, उनले पार्टी र संसदीय नेतृत्वमा पुग्न चुनाव जित्नै परेको छैन। कम्युनिस्ट पार्टीको आन्तरिक राजनीतिमा चुनाव नहुनु स्वाभाविक मानिए पनि संसदीय राजनीतिमा जनताबाट अनुमोदन नभएरै पटकपटक उपप्रधानमन्त्री बन्ने नेता हुन् श्रेष्ठ।
नारायणकाजीको अर्को विशेषता हो, उनी पार्टी र सत्ता दुवैमा दोस्रो वरीयताबाट माथि उठ्न नसक्नु। २०६५ यता पार्टीमा उपाध्यक्ष रहँदै आएका उनी सरकारमा पनि पटकपटक उपप्रधानमन्त्री भएका छन्। संगठन निर्माणमा ग्रामीण तहसम्म पुग्न नसकेका श्रेष्ठले मन्त्री बन्दा पनि मन्त्रालयमा तस्बिर झुन्ड्याउनेबाहेक देश र जनताका लागि स्मरणीय काम गर्न सकेका छैनन्। दुई दशकयता सत्ता राजनीतिमा सक्रिय श्रेष्ठ पनि अब राजनीतिमा आसलाग्दा भन्दा दिक्कलाग्दा बनिसकेका छन्।
श्रेष्ठ पार्टीमा पहिलो बन्ने लाइनमा रहेको चर्चा बेलाबेलामा भए पनि सार्थक हुन सकेको छैन। उनले पहिलो नेता बन्ने प्रयास नगरेका होइनन् तर विगत १५ वर्षयता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिपछि मात्रै छन्। माओवादी नेताहरूका अनुसार श्रेष्ठ भागबन्डा र हिस्सा लिने तर पार्टी निर्माणमा नलाग्ने नेतामा पर्छन्। गुटको राजनीति गर्ने र भागबन्डामा परिरहने प्रवृत्ति श्रेष्ठको छ। यही कारण उनलाई माओवादीभित्रका ‘कोर माओवादी’ अर्थात् ‘जनयुद्ध’ बाट आएका नेताले रुचाउँदैनन्।
श्रेष्ठ जनयुद्ध नलडेका नेता हुन्। जनयुद्धबाट ‘भागेको’ र खुला राजनीतिमा आएपछि मात्रै ‘मिसिएको’ आरोप उनीमाथि छ। २०५१ सालमा माओवादीले ‘जनयुद्ध’ मा जाने निर्णय गर्दा ‘प्रकाश’ विपक्षमा लागे। उनी नेकपा एकता केन्द्रको नेतृत्वमा थिए। माओवादीमा विलय भएपछि मात्रै नागरिक स्तरमा श्रेष्ठको पहिचान भएको हो। यद्यपि ‘जनयुद्ध’ लडेका नेताभन्दा बढी लाभ श्रेष्ठले लिएका छन्।
बेलाबेलामा श्रेष्ठले प्रचण्डलाई नेतृत्व छाड्न दबाब दिएको समाचार बाहिर नआएको होइन। यद्यपि श्रेष्ठले खुलेर प्रचण्डको विरोध गरेको सुनिँदैन। प्रचण्डको विरोध गरेमा खाइपाइ आएको पद गुम्ने भय श्रेष्ठमा रहेको उनीनिकट नेताहरू बताउँछन्।
असार अन्तिमतिर नेकपा माओवादी केन्द्रभित्र ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबीच विवाद बढेको हल्ला फिँजियो। सत्ताबाट बाहिरिनेबित्तिकै श्रेष्ठले प्रचण्डलाई नेतृत्व छाड्न दबाब दिएको र प्रचण्डले पनि श्रेष्ठलाई ‘अब बाटो लागे हुन्छ’ भनेको अभिव्यक्ति नेताहरूले सञ्चारमाध्यममा दिए। यसलाई प्रचण्डको सचिवालयले ‘हुँदै नभएको घटना’ भनेर खण्डन गर्यो। माओवादीका एक पदाधिकारीका अनुसार प्रचण्ड-श्रेष्ठबीच तिक्तता बढेकै थियो। ‘बाहिर आएजस्तो नभए पनि केही सम्बन्ध बिग्रिएको पक्कै हो,’ ती पदाधिकारी भन्छन्।
ती पदाधिकारीका अनुसार श्रेष्ठसँग प्रचण्डले भनेका थिए, ‘तपाईं भागबण्डा र हिस्सेदारी खाज्ने, पार्टी निर्माणमा ध्यान नदिने, गलत कार्यको दोषारोपण नेतृत्वमाथि लगाउने, राम्रो कामको जस आफैँले लिने अब यस्तै हो भने सहमतिमै आआफ्नो बाटो लागौँ।’
श्रेष्ठ बेलाबेला प्रचण्डसँगै ‘विवाद’ गरिरहन्छन्। दोस्रो स्तरका नेताले पनि श्रेष्ठलाई मन पराउँदैनन्। उनी प्रचण्डकै ‘प्यारा’ छन्। यतिसम्म कि माओवादीमा नयाँ पद सिर्जना गरेर उनको व्यवस्थापन गरिन्छ। ‘वरिष्ठ उपाध्यक्ष पद’ पनि श्रेष्ठकै लागि सिर्जना गरिएको हो।
सरकारमा रोजेकै मन्त्रालय
माओवादीको दोस्रो वरीयतामा छन् श्रेष्ठ। यसअघि सरकारमा जाँदा पनि प्रचण्ड नेतृत्वमा थिए भने श्रेष्ठ पार्टीका तर्फबाट ‘दोस्रो दर्जा’। पछिल्लोपटक प्रचण्ड प्रधानमन्त्री बन्दा माओवादीका अधिकांश मन्त्री फेरिए। प्रचण्ड १८ महिना प्रचण्ड हुँदा श्रेष्ठ सुरुमा परराष्ट्रमन्त्री नियुक्त भए। उनी मन्त्रालय नै नगएर प्रचण्डलाई घुर्की लगाइरहे। त्यसपछि उनी रोजेकै मन्त्रालय (गृह) मा सरुवा भए। गठबन्धन परिवर्तन हुँदा श्रेष्ठ गृहबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए।
श्रेष्ठ फेरिएनन्। यसै विषयलाई लिएर माओवादीका केही नेताले श्रेष्ठमाथि सत्तालिप्साको आरोप लगाए। पार्टी बैठकमा नेता माधव सापकोटाले श्रेष्ठलाई ‘त्यागको भावना देखाउन’ सुझाव दिएका थिए। यति हुँदाहुँदै पनि श्रेष्ठ माओवादीमा प्रचण्डको ‘किचन क्याबिनेट’ मा पर्दैनन्। प्रचण्डले आन्तरिक परामर्श गर्दा श्रेष्ठलाई सहभागी गराउँदैनन्।
कहिल्यै चुनाव नजित्ने श्रेष्ठ
पार्टीमा सधैँ भाग खोज्ने श्रेष्ठ आमनिर्वाचनमा ‘फेलियर’ पात्र हुन्। उनले कहिल्यै चुनाव जितेका छैनन्। यद्यपि चुना नलडेकाचाहिँ होइनन्। माओवादीसँग एकता भएपछिको पहिलो निर्वाचन (पहिलो संविधानसभा) मनोनीत सांसद थिए।
त्यसपछिको २०७० को दोस्रो संविधानसभाको चुनावमा उनी मकवानपुर-२ बाट एमालेका सुभाषचन्द्र ठकुरीसँग पराजित भए। २०७४ को प्रतिनिधिसभामा गोरखा-२ पुगेका श्रेष्ठ डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए। २०७४ मा चुनाव हारेपछि पनि उनको सत्तायात्रा रोकिएन। जनताको ‘प्यारा’ बन्न नसके पनि उनलाई केही नोक्सान भएको छैन।
माओवादी र पछि बनेको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वलाई दबाबमा पारेर उनी राष्ट्रियसभा सदस्य भए। २०७६ साल माघमा भएको राष्ट्रियसभा चुनावमा उनी तत्कालीन सत्तारुढ नेकपाका तर्फबाट उम्मेदवार बने। गण्डकी प्रदेशअन्तर्गतको उम्मेदवार बनेका उनले कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई पराजित गरेका थिए। श्रेष्ठले जितेको एउटै मात्र चुनाव राष्ट्रियसभा चुनाव हो। उनी ०७९ सालको निर्वाचन भने लडेनन्।
अवसर पाउनेमा सधैँ अगाडि
श्रेष्ठले ०५८ सालमा नेकपा मसालसँग १६ जना केन्द्रीय नेता लगेका थिए। उनीसँग अमिक शेरचन, लीलामणि पोखरेल, धावा लामा (झापा), ईश्वरी भट्टराई (चितवन), धर्मेन्द्र शाह, स्वनाम साथी, गिरिराजमणि पोखरेललगायतका नेता थिए। शशी श्रेष्ठ, अञ्जना बिसंखेलगायतका नेता मसालमा रहे पनि केन्द्रीय कमिटीमा थिएनन्। एकता केन्द्रबाट विभाजन भएर श्रेष्ठसहित १३ नेता माओवादीमा प्रवेश गरेका थिए। यसपछि माओवादीसँग एकता गर्दा २० जना केन्द्रीय सदस्य बनेको श्रेष्ठ निकट पोखरेलको दाबी छ। त्यसबेलादेखि श्रेष्ठले सधैँ भाग पाउँदै आएका छन्।
झलनाथ खनाल प्रधानमन्त्री बन्दा नारायणकाजी श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री बनेका थिए। त्यसबेला मन्त्रिपरिषद् हेरफेर हुँदा उनले गृह रोजेका थिए। बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री बनेका थिए। संविधान निर्माणपछि बनेको केपी ओली सरकारमा श्रेष्ठले आफ्नो समूहबाट गिरिराजमणि पोखरेललाई मन्त्री बनाएका थिए। २०७४ सालमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा फेरि यो गुटबाट स्वास्थ्यमन्त्री बनेर गिरिराजमणि सरकारमा गए। २०७४ को आमनिर्वाचनपछि बनेको केपी ओली सरकारमा गिरिराजमणि शिक्षामन्त्री बनेका थिए।
२०७८ असोजमा बनेको देउवा नेतृत्वको सरकारमा यो समूहबाट शशि श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी निवारणमन्त्री बनिन्। २०७९ मा बनेको प्रचण्ड सरकारमा नारायणकाजी गृहमन्त्री बने।
कांग्रेसबाट राजनीतिमा
श्रेष्ठ कांग्रेसबाट कम्युनिस्ट बनेका हुन्। उनी कुनै बेला कांग्रेसका सक्रिय कार्यकर्ता थिए। श्रेष्ठ निकट पत्रकार कमल गिरीका अनुसार बीपी कोइरालाका अपिलबाट श्रेष्ठ निकै प्रभावित थिए। त्यही क्रममा श्रेष्ठ दुईपटक जेल परे। गिरी भन्छन्, ‘नेपाली कांग्रेसको सामन्तवादसँगको सम्झौतापरस्त नीति उहाँलाई मन परेन।’
त्यसपछि श्रेष्ठ कम्युनिस्ट पार्टीले मात्रै जनताको मुक्ति गर्ने बुझाइका साथ कम्युनिस्ट पार्टीमा आबद्ध भए। उनलाई ०३८ सालमा गोर्खाका श्रीनाथ अधिकारीले पार्टी सदस्यता दिएको गिरी बताउँछन्। श्रेष्ठले ०३७/०३८ तिर हेल्थपोस्टमा काम गरेका थिए। केही वर्ष शिक्षकको जागिर पनि खाएका थिए। उनले जनप्रशासन स्नातकोत्तर गरेका छन्।
प्रचण्ड-श्रेष्ठ एकता र विभाजन
कांग्रेस छोडेर कम्युनिस्ट भएपछि श्रेष्ठ निर्मल लामा समूहबाट काठमाडौँ जिल्ला समितिको सदस्य हुँदै ०४२–४३ सालतिर केन्द्रीय सदस्य भए। २०४७ सालमा मशाल, चौम र सर्वहारावादी श्रमिक संगठनका बीचमा एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य रहे। प्रचण्ड उक्त पार्टीको महामन्त्री थिए।
‘एकै पटक छवटा पार्टीबीच एकता भएको थियो,’ वामपन्थी जानकार मनोज भट्ट भन्छन्, ‘प्रचण्ड महामन्त्री भए। बाबुराम भट्टराई मोर्चा संगठनका नेता भए।’ भट्टका अनुसार एकता भएपछि ०४८ सालमा एकता महाधिवेशनबाट श्रेष्ठ नेकपा (एकता केन्द्र) को पोलिटब्युरो सदस्य भए। श्रेष्ठ र प्रचण्डको सहकार्य ०५१ सालसम्म गयो।
२०५१ सालमा चितवनमा नेकपा एकता केन्द्रको ‘एकता महाधिवेशन’ गर्ने तयारी थियो। तत्कालीन एकता केन्द्रका एव हालका माओवादी सचिव लीलामणि पोखरेलका अनुसार त्यो महाधिवेशनको एजेन्डा ‘जनयुद्ध’ मा जाने-नजाने भन्ने थियो। ‘प्रचण्ड-बाबुरामको तयारी थियो त्यसैले उनीहरू जनयुद्ध जाने भन्नेमा पुगे,’ भट्ट भन्छन्, ‘नारायणकाजीहरू नलड्नेमा पुगे।’ प्रचण्ड जनयुद्धमा होमिँदा श्रेष्ठ बाहिरिएका थिए। भट्ट सम्झन्छन्, ‘प्रचण्ड-नारायणकाजी रुँदै छुट्टिएका थिए।’
प्रचण्ड र श्रेष्ठबीच ‘जनयुद्ध’ लड्ने-नलड्नेमा मतभेद थियो। प्रचण्ड ‘दीर्घकालीन जनयुद्धको मोडलबाट गाउँबाट सहर घेर्ने माओको कार्यनीतिलाई अँगाल्ने नीति’ सहित भूमिगत हुन चाहन्थे भने श्रेष्ठ ‘जनयुद्धको बाटो समातिहाल्नुहुन्न’ भन्ने पक्षमा थिए। ‘हामी बाहिरै बस्ने र उहाँहरू लड्ने अडानमा पुगेपछि अलग भएका हौँ’, माओवादी सचिव पोखरेल सम्झन्छन्।
श्रेष्ठको दोहोरो चरित्र
माओवादी जनयुद्धतिर गए पनि एकता केन्द्रका नेताहरूले प्रचण्डलाई भेट्न छाडेनन्। उनीहरू जनयुद्धबारे खबर लिएर भारतका विभिन्न ठाउँमा पुगेका थिए। माओवादी नेताहरूका अनुसार श्रेष्ठले प्रचण्डलाई देशको राजनीतिक अवस्था, पार्टी राजनीति र सरकारबारे सूचना दिइरहन्थे।
‘भारतमा रहँदा गोरखपुर, लखनउ, पञ्जाब हुँदै दिल्लीमा पनि नारायणकाजीले भेटघाट गर्नुहुन्थ्यो,’ प्रचण्डले केही समयअघि पार्टी बैठकमा भनेका थिए, ‘रोल्पामा समेत नारायणकाजीसँग भेटघाट भएको थियो।’
भट्टका अनुसार रोल्पामा प्रचण्डलाई भेट्न श्रेष्ठ घोडामा गएका थिए। यसपछि उनी अर्धभूमिगत बने। ‘हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले अर्धभूमिगत थियो,’ सचिव पोखरेल भन्छन्। ०५१ मा माओवादीसँग विभाजनपछि श्रेष्ठ गुमनामजस्ता बने। त्यसको एक वर्षपछि फेरि उनले एकता केन्द्र स्थापना गरे।
एकता केन्द्रको महामन्त्री बनेपछि श्रेष्ठ अर्धभूमिगत रहँदै प्रचण्डसँग सहकार्यमा उभिन्थे। २०५८ सालमा श्रेष्ठले मोहनविक्रम सिंहको नेकपा मसालसँग एकता गरे। पार्टीको नाम नेकपा एकता केन्द्र (मसाल) रह्यो।
भट्टका अनुसार मसालबाट १६ र एकता केन्द्रबाट १६ गरी ३२ जनाको केन्द्रीय समिति बनाइएको थियो। ‘हाम्रो पार्टीमा आएपछि पनि श्रेष्ठ प्रचण्डलाई भेट्न गइरहन्थे’, उनले भने।
मसाल-एकता केन्द्रबीच माओवादी जनयुद्धलाई ‘उग्र वामपन्थी गतिविधि’ को सैद्धान्तिक मूल्यांकन गरेर भएको थियो। एकतापछि पनि पार्टीमा तिक्तता आउन थाल्यो। ‘श्रेष्ठले माओवादी क्रियाकलापको बचाउ गर्न थाले। हाम्रो त्यो मान्यता थिएन। श्रेष्ठले दोहोरो चरित्र देखाउन खोजे’, भट्ट भन्छन्।
माओवादी शान्तिप्रक्रियामा आएपछि २०६५ सालमा १४ वर्षअघि टुक्रिएको माओवादी र नेकपा एकता केन्द्रबीच एकता भयो। पार्टी नाम एकीकृत नेकपा माओवादी रहन गयो। प्रचण्ड पार्टी अध्यक्ष र श्रेष्ठ पार्टी उपाध्यक्षका रूपमा रहे। त्यसयता श्रेष्ठ प्रचण्डका पूरक सहयोगीका रूपमा आएका छन्।
२०५१ सालमा एकता केन्द्र विभाजनपछि श्रेष्ठ पार्टीको कार्यकारी प्रमुख बने। बाबुराम-प्रचण्ड जनयुद्धमा लागेपछि श्रेष्ठले एकता केन्द्र ब्युँताए र महामन्त्री बने। त्यसबेला त्यो पार्टीको कार्यकारी महामन्त्री हुन्थ्यो। २०५८ मा नेकपा मसालसँग एकतापछि उनी नेकपा एकता केन्द्र (मसाल)मा सहमहामन्त्रीमा घटुवा भए। उनी लामो समय टिकेनन्।
निर्णायक श्रेष्ठ
२०६५ मा माओवादीसँग एकतापछि तत्कालीन नेकपा माओवादी उपाध्यक्ष बने। त्यसपछि श्रेष्ठ निरन्तर पार्टीमा दोस्रो दर्जाको नेता बनिरहे। माओवादीमा मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई हुँदा श्रेष्ठ उपाध्यक्ष रहन्थे। बाबुराम र किरण विपक्षमा हुँदा समेत श्रेष्ठले प्रचण्डलाई साथ दिन्थे।
‘प्रचण्डले कहिले यताका नेता कहिले उताका नेता प्रयोग गर्थे,’ राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, ‘कहिले किरण आफूतिर तान्ने, कहिले बाबुराम। यसो गर्दा श्रेष्ठ निर्णायक बन्थे।’
किरण र बाबुरामले पार्टी छाडेपछि श्रेष्ठलाई दोस्रो व्यक्ति बन्न झनै सहज भयो। माओवादीको आठौँ महाधिवेशनपछि त प्रचण्डमाथि दबाब दिलाएर उनी ‘वरिष्ठ उपाध्यक्ष’ बने। नेकपाकालमा समेत प्रचण्डले श्रेष्ठलाई ‘निर्णायक पद’ दिलाएका थिए। ९ सदस्यीय सचिवालयमा श्रेष्ठ प्रवक्ता थिए।
कमजोर गुट
पार्टीमा श्रेष्ठ समूह निरन्तर खिइँदै गएको छ। यसो त माओवादी केन्द्र पहिलेजस्तो कहाँ छ र! तर पनि श्रेष्ठको भाग लिने क्रम घटेको छैन। उनी निकट मानिने अमिक शेरचन दुईपटक प्रदेश प्रमुख बने। रणेन्द्र बराली राष्ट्रियसभा सदस्य छन्। बराली कुनै बेलाका रूपलाल विश्वकर्माको सर्वहारा श्रमिक संगठनका सदस्य थिए। बरालीले अहिले श्रेष्ठ गुटबाट भाग पाएका हुन्। २०७९ को आमचुनावमा श्रेष्ठ निकट गिरिराजमणि, लीलामणिलगायतले चुनाव हारे।
श्रेष्ठ निकट पेशल खतिवडा माओवादीको समानुपातिक सूचीमा परेका थिए तर सांसद बनेनन्। यसैले पनि गुट कमजोर बनेको माओवादी स्रोत बताउँछ। ‘उनी सबैतिर समझदारी भएर काम गर्दिन सक्छन्। माओवादीभित्रका गुटमा पनि प्रचण्डलाई साथ दिन सक्छन्,’ मसालका नेता एवम् राजनीतिक विश्लेषक विमल पोखरेल भन्छन्, ‘श्रेष्ठ सबैतिर मिलिदिन सक्छन्। यसैका लागि प्रचण्डले राखिराखेका हुन्।’ अर्का राजनीतिक विश्लेषक कृष्ण पोखरल पनि समन्वयकारी भूमिकाकै कारण श्रेष्ठ प्रचण्डसँग टिकेको विश्लेषण गर्छन्।
लोकप्रियतावादी नारायणकाजी
कुनैबेला श्रेष्ठ सार्वजनिक यातायातमा यात्रा गर्थे। उनी निकट नेताहरूका अनुसार उनी अरूलाई ‘माक्र्सवाद’को पाठ पढाउँथे। यसअघि गृहमन्त्री हुँदा प्रहरीमा योग अभ्यास अनिवार्य गर्न निर्देशन दिन्थे। श्रेष्ठ निकट एक नेताका अनुसार बिहान पनि दौडनुपर्ने विचार राख्छन्। ‘उहाँ सबैलाई स्वस्थ बन्नुपर्छ भन्नुहुन्छ। अनि सुरक्षाकर्मीलाई समेत कुदाउनुहुन्छ।’ उनी जिल्ला जाँदा पनि सार्वजनिक यातयात चढ्नुपर्ने बताउँथे।
‘यस्तो लोकप्रियतावादी कुरा गर्न नारायणकाजीलाई मात्र आउँछ’, उनी भन्छन्। उनले लोकप्रियताकै लागि पार्टीमा ‘फरक मत’ राख्ने गरेको नेताहरू सुनाउँछन्। यतिमात्र होइन, उनी आफू साकाहारी भएको कुरा गर्छन्। र, सबैलाई ‘साकाहारी बन्नुपर्छ’ भन्ने शिक्षा दिन्छन्। उनी बेलाबेलामा देश र जनताका कुरा गर्दा भावुक पनि बन्न पुग्छन्।
‘प्रचण्डभन्दा भिन्न हुँ भन्नका लागि उहाँ कहिलेकाहीँ त्यसो गर्नुहुन्छ,’ ती नेता भन्छन्, ‘त्यो लामा टिक्दैन।’ माओवादी निकट नेताहरू नारायणकाजी अवसरबादी भएको दाबी गर्छन्। ‘नारायणकाजी संघर्ष गर्न डराउने नेता हुन्। उनी संघर्षमा कहिल्यै अघि लाग्दैनन्,’ विश्लेषक विमल पोखरेल भन्छन्, ‘श्रेष्ठ लाभ लिन अघि सर्छन् तर संघर्ष गर्न डराउँछन्।’
जग्गा बुझाएको कुरा प्रचारबाजी मात्रै
श्रेष्ठ भन्ने गर्छन्, ‘मैले व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाएँ।’ २०५८ सालमा मसालमा लाग्दा पनि उनी यसै भन्थे। उनले कुन पार्टीलाई बुझाए वा कति बुझाए भन्ने स्पष्ट छैन। ‘उनी हामीलाई पनि त्यसै भन्थे। तर कुन पार्टीमा बुझाए। कहिल्यै थाहा भएन,’ जनमोर्चाका महामन्त्री भट्ट भन्छन्, ‘त्यो रकम बराबरको आयस्था आउनुपर्ने हो नि। तर कहिलै आएको देखिएन।’
श्रेष्ठ निकट नेता भने उनले व्यक्तिगत सम्पत्ति बेचेर माओवादीलाई रकम बुझाएका थिए। यद्यपि उनीहरू पनि प्रमाण दिन सक्दैनन्। ‘चितवनको केही जग्गा बुझाएर माओवादीलाई नारायणकाजीले सहयोग गरे,’ उनका एक निकट नेता भन्छन्, ‘द्वन्द्वकालमा भूमिगत माओवादीलाई सहयोग गर्न नारायणकाजीले जग्गा बेचेको उनकै दाजुभाइले भनेका हुन्।’ हालको रत्न नगर १६ मा रहेको राम्रो खेति योग्य जग्गा उनले दाजु भाइलाई समेत जानकारी नदिइकन वेचेर पैसा माओवादिलाई दिएका हुन्।
कतिपय नेताहरू भने श्रेष्ठले उल्टै माओवादीबाट पैसा लिने गरेको आरोप लगाउँछन्। ‘नारायणकाजीले सधैँ पैसा लिँदा रहेछन्। एकपटक माओवादीको बैठकमै पनि यो कुरा चलेछ,’ भट्ट भन्छन्, ‘नारायणकाजीले दुई लाख रुपैयाँ मागेका थिए भन्ने कुरा बैठकमा उठेको थियो रे।’
‘प्रचण्डका प्रतिस्पर्धी होइनन्’
श्रेष्ठ सधैँ प्रचण्डसँगै रहनुको अर्को कारण हो, उनी ‘फस्ट मेन’ हुन नसक्नु। हुन त उनको साेच पार्टी र सरकार दुवै हाक्ने छ। कहिलेकाहीँ श्रेष्ठ पार्टी हाँक्न तयार भएको बताउँछन् तर उनले सरकार हाक्ने कुरा बाहिर गरेका त छैनन् यद्यपि पार्टी हाक्ने चाहिँ उनले भन्दै आएकाछन्। त्यो कुरा सधैँ सेलाएर जान्छ। यसअघिको माओवादी केन्द्रको बैठकमा पनि श्रेष्ठले अब आफूले पार्टीको नेतृत्व गर्ने कुरा उठाएका थिए। अन्य नेताहरूले प्रचण्डलाई दबाबमा पारेपछि श्रेष्ठले प्रचण्डलाई साथ दिए। नेताहरूको बुझाइमा उनी यसरी प्रचण्डको निकट हुनुको कारण पनि यही हो। श्रेष्ठले ‘निर्णायक भूमिका’मा प्रचण्डलाई साथ दिँदै आएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार नारायणकाजीमा पार्टी प्रमुख बन्ने क्षमता छैन। ‘पार्टी हाँक्न त जनयुद्ध लड्नुपथ्र्यो। नलडेपछि माओवादीभित्रका नेताले पत्याउँदैनन्,’ राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्, ‘त्यसैले उनी प्रचण्डका प्रतिस्पर्धी होइनन्।’
Kendra ko lagi wa prachanda ko lagi ghatak nabhayepani Shresthale jilla jilla ma aphano gutlai Bhetghat gardai Janu r aphano bicharbat prerit gardai gutlai Baliya banai prachanda lai phalne prabriti dekhaunu hunchh jasko Karan jilla jilla ma mayobadi janmorcha dui Dhar bhitrabat dekhin gareko ho jaha purbjanmorha Baliya chh Tyaha out bhayer purb mayobadiko digaj netalai khedanu jaha purb mayobadi baliyo bhayeko thauma bhagabanda ko niti lyrer bayaktigat swarth pura garne niti raheko bujhai chh