निर्णायक शक्ति बन्ने एमालेको कार्ययोजना, पार्टी सदस्य १० लाख पुर्‍याउने लक्ष्य (पूर्णपाठ)

हिमाल प्रेस २ असोज २०८१ १५:०९
18
SHARES
निर्णायक शक्ति बन्ने एमालेको कार्ययोजना, पार्टी सदस्य १० लाख पुर्‍याउने लक्ष्य (पूर्णपाठ) नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– नेकपा एमालेले आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ। जसअनुसार आगामी महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पुर्‍याउने लक्ष्य लिएको छ।

महासचिव शंकर पोखरेलले भदौ ३१ गते जारी गरेको वार्षिक कार्ययोजनामा ०८२ को नवीकरण र विस्तारमा वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य पुर्‍याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख छ।

‘पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनसम्म प्रत्येक पालिका कमिटीले कुल सदस्यको संख्या ३३ प्रतिशत महिला सदस्य पुर्‍याउने गरी योजना बनाई कार्यान्वयन गर्ने। सदस्यता विस्तार गर्दा मापदण्डको पालना गर्दै नयाँ सदस्यहरूको आवेदन लिने र त्यसमाथि प्रक्रियाबमोजिम आवश्यक निर्णय गर्ने काम निरन्तर जारी राख्ने। नयाँ सदस्यता प्रदान गर्नुअघि अनिवार्य आधारभूत तहको प्रशिक्षण तथा परीक्षा लिने प्रणाली व्यवस्थित गर्ने,’ कार्ययोजनामा  उल्लेख छ।

पार्टी कमिटी र नेता कार्यकर्ताहरूलाई पठाएको १८ बुँदे कार्ययोजनाको १४ नम्बर बुँदामा बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने भनिएको छ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्नका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्दछ। गएको निर्वाचनबाट हाम्रो पार्टी पहिलो पाटी बन्न त सफल भएको छ तर अपेक्षित मात्रामा जनआधार विस्तार गर्न सकेको छैन’, एमालेले भनेको छ, ‘आगामी निर्वाचनमा जनआधार विस्तार गरी त्यसलाई दिगो बनाई निर्णायक तहमा पार्टीलाई पुर्‍याउँनुपर्दछ।’

त्यसका लागि एमाले नेतृत्वको विकासको योजना, स्थानीय तहसम्म जनसङ्गठन सुदृढीकरण विस्तार र नयाँ पुस्तामा पार्टी काम लगायत पाँच वटा विषयलाई प्राथमिकतामा राखेको छ।

नयाँ पुस्तामा पार्टी काम शीर्षक अन्तर्गत एमालेले नयाँ पुस्तामा पार्टी काम पुर्‍याउने र नेतृत्वमा विकासको योजना कार्यान्वयन गर्न प्रदेश कमिटीमा १०, जिल्लामा १५, पालिकामा २० र वडा तथा टोल तहमा ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी ढङ्गले लागु गर्ने जनाएको छ।

साथै प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्दै पार्टी काममा जोडेर उनीहरूलाई वैचारिक राजनीतिक प्रशिक्षणका अलावा नेतृत्व विकास र उद्यमशीलताका विषयमा समेत प्रशिक्षित गर्ने एमालेको कार्ययोजना छ।

‘नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि उमेर समूह अनुसारमा मुद्दाहरू तय गर्ने र नयाँ पुस्तामा पुर्‍याउने, जनसंगठनसँगको समन्वयमा नयाँ पुस्तामा सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने’, कार्ययोजनामा भनिएको छ,‘ युवाहरूमा उद्यमशीलताको विकास, उत्पादन कार्यमा सहभागिता र उत्पादकत्व वृद्धिका लागि सोहीअनुरूपमा परामर्श कार्यक्रम (काउन्सिलिङ), प्रशिक्षण र तालिम, स्टार्ट अप सम्बन्धी जानकारी र सहजीकरण तथा उत्पादनको बजारीकरणका लागि आवश्यक समन्वय गर्ने।’

‘समृद्ध नेपाल सुखी नेपाल’को राष्ट्रिय अभियानमा युवाको सार्थक सहभागिता र नेतृत्व स्थापित गर्ने उद्देश्यका साथ चालीस वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजना गर्ने कार्ययोजना बनाएको एमालेले शिखर सम्मेलनको अवसरमा व्यापक जनपरिचालन गर्ने जनाएको छ।

प्रकाशित: २ असोज २०८१ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =