काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला एमालेले सचिवालय बैठक बोलाएको हो ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ ।
सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ । यस्तै, केन्द्रीय कमिटीमा मनोनीत गर्ने व्यक्तिका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।
स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा समेत छलफल हुने भएको छ । सचिवालयमा छलफल गरेपछि स्थायी कमिटी र पोलिटब्युरो गठनबारे केन्द्रीय कमिटी बैठकबाटै घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन् ।
प्रकाशित: ८ असोज २०८३ ६:३१ | Thursday, September 24, 2026
प्रतिक्रिया


