रास्वपाको केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखि

हिमाल प्रेस १ असोज २०८१ ७:४५
8
SHARES
रास्वपाको केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखि रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आज सुरु हुँदैछ। आज र भोलि काठमाडौँको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन्।

राष्ट्रिय भेलाको उद्घाटन अहिले पौने नौ बजे सभापति रवि लामिछानेले गर्नेछन्। उद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ। आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ।

आजै विधान संशोधन, नीति-विचार, मूल्य-मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ। भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ।

राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ। पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १ असोज २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 11 =