राजदूत सिफारिस गर्दा दक्षलाई प्राथमिकता दिएका छौँ : परराष्ट्रमन्त्री राणा

हिमाल प्रेस १८ भदौ २०८१ १३:४४
12
SHARES
राजदूत सिफारिस गर्दा दक्षलाई प्राथमिकता दिएका छौँ :  परराष्ट्रमन्त्री राणा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठक। तस्बिर : हिमालप्रेस

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिसका लागि दक्षता र अनुभवलाई विशेष प्राथमिकता दिइएको बताएकी छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सदस्यहरूले उठाएको प्रश्नको जवाफमा मंगलबार उनले यस्तो बताएकी हुन्।

मन्त्री राणाले राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकता सन्तुलनका लागि कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको बताइन्।

सेवाबाहिरबाट नियुक्तिका लागि विभिन्न क्षेत्रका दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्नेगरी सिफारिस गरिएको उनको भनाइ छ।

परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणको क्रममा भएका भेटवार्ता र छलफलका विषयबारे पनि समितिमा जानकारी गराएकी छन्। आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप बलियो बनाउन  योगदान गरेको उनले दाबी गरेकी छन्।

राणाले भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्धन गर्न मार्गदर्शनसमेत गरेको उल्लेख गरेकी छन्।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा छलफल भएको उनले जनाएकी छन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजकीय भ्रमणका लागि दिएको निमन्त्रणा मोदीले स्वीकार गर्दै सकारात्मक जवाफ दिएको राणाले जानकारी दिइन्।

राणाले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भएको द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण रहेको बताएकी छन्। विदेशमन्त्री जयशंकरसँग दुई देशबीच व्यापार तथा पारवहनका क्षेत्रमा सहयोग बढाउने, नेपालबाट भारतमा निकासी हुने विद्युतको मात्रा बढाउँदै लैजाने, सीमापार कनेक्टिभिटी विस्तारलगायतका विषयमा छलफल भएको उनले बताएकी छन्।

त्यस्तै उनले नेपालमा भारतीय लगानी प्रवद्र्धन गर्ने, नेपालका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आवश्यक छलफल अगाडि बढाउने, बाढी तथा डुबान समस्या समाधानका लागि सम्बद्ध संयन्त्र परिचालन गर्ने विषयमा समेत छलफल भएको जानकारी दिएकी छन्।

परराष्ट्रमन्त्री जयशंकरसँग पञ्चेश्वर बहुउद्देशीय आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने, धनगढीको फाप्लामा क्रिकेट स्टेडियम निर्माण, सीमा पूर्वाधारको निर्माण तथा विस्तारमा सहकार्य गर्ने लगायतका विषयमा नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको मन्त्री राणाले बताएकी छन्।

यसबाहेक द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट विभिन्न विषयमा विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिनबारे सहमति भएको उनले जानकारी दिएकी छन्।

परराष्ट्रमन्त्री राणा भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भदौ २ देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गरेकी थिइन्।

प्रकाशित: १८ भदौ २०८१ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast