काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रतिगमनका लागि नभएर अग्रगमनका लागि हुने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा राप्रपा नेता पशुपतिशम्शेर जबराले ‘संविधानको कुन कुन धारा संशोधन हुने र प्रक्रिया के हो?’ भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
संविधान संशोधन देश, जनता र विकासको पक्षमा हुने बताउँदै उनले बुँदा तोकेरै संशोधनका लागि सहमति नभएको प्रस्ट पारे।
‘नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो, जसमध्ये एउटा बुँदा संविधान संशोधन हो। कहाँ र केका लागि त्यो पनि सहमतिमा सैद्धान्तिक तवरले उल्लेख छ,’ ओलीले भने,‘संविधान संशोधन देश, जनता र विकासको पक्षमा हुन्छ। समस्या कहाँ छ, त्यसका लागि संशोधन हुन्छ, कुनै बुँदा तोकेर सहमति गरिएको होइन।’
प्रतिगमनका लागि भन्दै आरोप लगाइए जस्तै नभएर अग्रमनका लागि संविधान संशोधन हुने भन्दै उनले ढुक्क भएर बस्न आग्रह गरे।
‘यो रस्साकस्सीको विषय होइन, संविधान संशोधनीय दस्तावेज हो,’ ओलीले भने,‘छलफल गरेर अगाडि बढिन्छ, प्रतिगमनका लागि होइन अग्रमनका लागि हो यो।’


