महिला एसिया कप : भारतसँगको हारले सेमिफाइनल पुग्न चुक्यो नेपाली टिम

हिमाल प्रेस ९ साउन २०८१ ७:०५
14
SHARES
महिला एसिया कप : भारतसँगको हारले सेमिफाइनल पुग्न चुक्यो नेपाली टिम

काठमाडौँ- नेपाल एसीसी महिला एसिया कप प्रतियोगिता २०२४ मा समूह चरणको अन्तिम खेलमा हार व्यहोरेसँगै सेमिफाइनल सम्भावना सकिएको छ।

नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह ‘ए’ बाटै बाहिरिएको हो। यो समूहबाट भारतसहित पाकिस्तान सेमिफाइनल पुगेका छन्। नेपालले समूह चरणका तीन खेलमा एक मात्र जित निकाल्यो। यूएईसँग सानदार जित निकाले पनि सेमिफाइनल पुग्न पर्याप्त बनेन।

भारत ३ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुग्यो। पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको है।

फराकिलो अन्तरले हार्‍यो नेपाली टिम

भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो। नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन्।

सम्झना खड्का ७, कविता कुँवर ६, पूजा महतो २, कविता जोशी डक, डली भट्ट ५, काजोल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन्। भारतकी दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २-२ विकेट लिए। रेनुका सिंहले १ विकेट लिइन्। त्यसअघि श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।

भारतको जितमा ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाइन्। उनको यो टी२० आई करिअरको उच्च प्रदर्शन हो। अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन्। भारतलाई ओपनर हेमलथा र शेफालीले १४ ओभरमा १२२ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गराएका थिए।

नेपाललाई स्पिनर सीता राना मगरले हेमलथालाई लङअनमा रुविनाबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन्। शेफाली सीताकै बलमा विकेटकिपर काजोल श्रेष्ठबाट स्टम्पिङ आउट हुँदै शतकको अवसर गुमाएकी थिइन्।सजीवन सजनाले १२ बलमा १० रन बनाउँदै एलबीडब्ल्यु आउट भइन्। जमीमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रनमा अविजित रहे।

नेपालकी सीता राना मगरले ४ ओभरमा २५ रन खर्चेर २ तथा कविता जोशीले १ विकेट लिइन्।

प्रकाशित: ९ साउन २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =