नयाँ स्वरूपमा हिमालले ल्याए ‘न मैले लेखें, न उनले लेखिन्’

हिमाल प्रेस १६ असार २०८१ १०:३९
10
SHARES
नयाँ स्वरूपमा हिमालले ल्याए ‘न मैले लेखें, न उनले लेखिन्’

काठमाडौँ- चर्चित गायक हिमाल सागरको स्वर र संगीतमा वि.स २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन्’ को नयाँ भर्सनमा म्युजिक फिल्म सार्वजनिक भएकाे छ।

काठमाडौँकाे जमलस्थित विश्वज्योति सिनेप्लेक्समा कार्यक्रम गर्दै गायक हिमाल सागरले नै तयार गरेको उक्त गीतको अडियो र म्युजिक फिल्मकाे आधुनिक स्वरूपमा सार्वजनिक गरिएको हो।

सार्वजनिक म्युजिक फिल्ममा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गरेका हुन्। यही गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तत्कालीन समयमा एक लाख पचास हजार भन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए।

‘कन्सर्टमा म देश होस् वा विदेश सबै भन्दा बढी गीत यही गाएको छु। यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु। पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ’, गायक हिमालले भने।

पहिलो गीत नै सफल भएपछि गायक हिमाल सागरले ‘मेरो माया मारेपछि’, ‘तिमीले माया नगरे’, ‘मेरो मनमा आगो लाउने को’, ‘तीन ढिके फूली लाएर आइछौ’, ‘कल्लाई थाहा छौँ’ लगायत हिट गीत सार्वजनिक गरिसकेका छन्।

सात वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक हिमाल सागरले सांगीतिक कार्यक्रमका लागि ६५  भन्दा बढी देश भ्रमण गरिसकेका छन्। उनले भने, ‘मलाई उक्त समयमा स्थापित गर्ने गीतले नयाँ पुस्ताको मन जित्नेमा विश्वस्त छु। यो प्रेममा व्यक्त गरिएको भावना हो, जुन कहिले पुरानो हुदैन। यो गीत जोडिएको मनसँग भावनात्मक सम्बन्ध गास्नेछ।’

गीतमा गायक हिमालसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छन्। अभिनेत्री केकी अधिकारीले यो गीत आफ्नो स्कुल र कलेज लाइफमा मन पर्ने लिस्टमा एक नम्बरमा रहेको बताइन्। उनले भनिन्, ‘यो गीत सुन्न रेडियोमा फरक-फरक नाममा फोन गर्थे। धेरै साथीलाई डेडीकेट पनि गरेकी छु। यो गीत मेरो सधै फेवरेट थियो। अहिले नयाँ भर्सनमा बन्दा काम गर्ने मौका पाउँदा निकै हर्षित छु।’

उनले आफू अष्ट्रेलियामा रहँदा नै यस गीतको भिडियोमा काम गर्ने अफर आएकाे कारण भ्रमण छोट्याएर नेपाल फर्किएर काम गरेको बताइन्।

गीतमा निकेश खड्काको निर्देशन, धीरजजङ्ग शाहको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको छ। पहिलो भिडियो भन्दा फरक र सरल प्रस्तुती नयाँ गीत तयार गरिएको निर्देशक खड्काले बताए।

उनले भने, ‘पुरानो लोकप्रिय गीत हुँदा सम्पूर्ण दायित्व भिडियोमा आउँछ किनकि गीत पहिले सफल भइसकेको हुन्छ। त्यसकारण यसको प्रस्तुतीकरणमा सोही दायित्वबोध गरेको छु। यसमा पनि प्रेम प्रसंग नै देखाएको छु तर शैली फरक छ। यो गीतको कथासँग अहिलेको पुस्ताले रिलेट गर्नु हुनेछ भन्ने विश्वास छ।’

निर्देशक खड्का यसअगाडि गायक यश कुमारको ‘हिजो अर्कैसँग देखे’ र ‘तिम्रो मन बदलिए छ’, गायक दीपक लिम्बूको ‘सागर बरू सुकेर गईजाला’ बोलको गीतहरूको रीमेक भर्सनको भिडियो तयार गरिसकेका छन्।

भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाले निर्माण गरेकाे ‘न मैले लेखें, न उनले लेखिन्’ बोल गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको हाे।

यस्ताे छ गीत

प्रकाशित: १६ असार २०८१ १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =