काठमाडौँ- अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘स्टेशन’को शुभ मुहूर्त गरिएको छ। सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा मुहूर्त गर्दै फिल्मको औपचारिक रुपमा निर्माण प्रक्रिया सुरु गरियो । मुहूर्तमा केकी र निर्देशक सुलक्षण भारतीले क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरेका थिए।
केकीले नयाँ वर्षको अवसर पारेर गत मंगलबार यो फिल्मको निर्माण घोषणा गरेकी थिइन्। घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले दर्शकमा फिल्मको विषयवस्तुप्रति कौतुहलता जगाएको छ । कलर टोनमार्फत ‘बोक्सीको घर’को छनक दिन खोजिएको पोस्टरले क्राइम-थ्रिलर जनरामा फिल्म बन्न लागेको संकेत गर्छ ।
केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्ममा निर्देशक भारती स्वयंको लेखन रहेको छ । केकी र भारतीले यसअघि २०८१ सालको ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’मा सहकार्य गरेका थिए । यो फिल्म रिलिजपश्चात् उनीहरूको सम्बन्ध बिग्रिएको थियो । तर, दुवैले पुरानो तिक्तता बिर्सिएर दोस्रो पटक फिल्ममा सहकार्य गरेका हुन् ।
वैशाख तेस्रो साताबाट छायांकन सुरु हुने यस फिल्मको निर्मातामा बद्री अधिकारी रहेका छन् । डेढ दशकअघि ‘इन्द्रावती’, ‘लडाइँ’, चक्रव्यूह’, ‘आवाज’, ‘ज्यान हाजिर छ’ लगायतका फिल्मको निर्देशन समेत गरेका उनी केकीका बुबा हुन् । कुनै समय उनले निर्देशन गरेको ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृंखला निकै चर्चित थियो ।



