राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा समस्या, दैनिक ५० अर्ब तान्नुपर्ने बाध्यता

हिमाल प्रेस ७ असार २०८१ १२:०७
18
SHARES
राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा समस्या, दैनिक ५० अर्ब तान्नुपर्ने बाध्यता

काठमाडौँ- नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापनमा सकस परेको छ। बैंक तथा वित्तीय संस्थाबाट तरलता खिच्ने भन्दा बढी रकम जम्मा भएपछि व्यवस्थापनमा समस्या देखिन थालेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाबाट बिहीबार निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब तरलता खिचेको राष्ट्र बैंकले शुक्रबार ४० अर्ब तरलता  तान्दैछ।

राष्ट्र बैंकले बिहीबार निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब तरलता तानेको थियो। २१ बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन उपकरणमा राख्नका लागि आवेदन दिएको बैंकले जनाएको तथ्यांकमा छ। राष्ट्र बैंकले औसत ३.०५३७ ब्याजदरमा ५० अर्ब रुपैयाँ मात्र बैंक तथा वित्तीय संस्थाबाट खिचेको छ।

स्थायी निक्षेप सुविधामार्फत वित्तीय प्रणालीको तरलता र अन्तर बैंकदर व्यवस्थापन नभएपछि निक्षेप संकलन उपकरणमार्फत वित्तीय प्रणालीको थप तरलता खिच्नुपरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले  जानकारी दिए। उनका अनुसार अल्पकालीन ब्याजदरको उतारचढाव नियन्त्रणका लागि निक्षेप संकलन उपकरणको प्रयोग गर्नुपरेको छ।
आर्थिक गतिविधि कम हुँदा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न नसक्दा अहिले तरलता बढी खिच्नुपरेको उनले बताए।

राष्ट्र बैंकले तरलता र ब्याजदर व्यवस्थापनका लागि विभिन्न वित्तीय औजारमार्फत अधिक तरलता खिच्ने गर्छ। वित्तीय प्रणालीमा तरलता बढेपछि अन्तरबैंक घट्ने गरेको छ। यसलाई व्यवस्थापन गर्न तरलता खिच्नुपर्ने हुन्छ।

केन्द्रीय बैंकले निक्षेप संकलन जारी गरेर वित्तीय प्रणालीको अधिक तरलता खिच्नुका साथै अन्तर बैंकदर पनि बढाउँछ। बैंकले अल्पकालीन ब्याजदरमा आउने उतारचढाव नियन्त्रणका लागि अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण जारी गर्दै आएको छ।

तरलता खिच्दा बैंकहरूले न्यूनतम २.९९९ प्रतिशतदेखि अधिकतम ३.१००० प्रतिशतसम्मको ब्याजदर माग बोल गर्दै आएका छन्। अन्तरबैंकदर अझै ३ प्रतिशत तल रहेपछि राष्ट्र बैंकले शुक्रबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत खिच्ने भएको छ।

गत बुधबार बैंकले स्थायी निक्षेप सुविधा ९एसडिएफ० मार्फत २८ अर्ब १० करोड तरलता खिचेको थियो। यसै साता मात्र बैंक साढे एक खर्ब तरलता खिच्चेको छ।

बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। पछिल्लो समय बैंकमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले तरलतामार्फत पैसा पनि बढी खिच्दै आएको छ। बैंकहरूले सातामा २ पटक आइतबार र बुधबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ। सोहीअनुसार बैंकहरूले बढी भएको निक्षेप राष्ट्र बैंकमा राख्ने गरेका छन्।

प्रकाशित: ७ असार २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =