रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न सम्झौता

हिमाल प्रेस २ असार २०८१ १५:०५
14
SHARES
रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न सम्झौता सम्झौता आदानप्रदान गर्दै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवाल। तस्बिर स्रोत : एमसीए नेपाल

काठमाडौँ- एमसीए-नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा  उक्त सम्झौता गरेको हो।

उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) सबस्टेसन ३९ महिनाभित्र निर्माण गरिनेछ। निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्ये एउटा हुने एमसीए नेपालले जनाएको छ।

५.१६ करोड अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्नेछ।

एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसीसी र एमसीए-नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटा सबस्टेसनमध्ये एमसीए-नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेसन निर्माण सम्झौता हो।

सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्त्वपूर्ण अंगका रूपमा परिकल्पना गरिएको ४०० केभी रातमाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्काे महत्त्वपूर्ण उपलब्धि हुनेछ।’

मिलेनियम च्यालेन्ज कर्पोरसनका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, ‘तीनवटा सबस्टेसनमध्ये दोस्रो रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकोले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिन सकिन्छ।’

आगामी केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने कुरामा विश्वस्त रहेको उनले बताए।

एमसीए-नेपालका कार्यकारी निर्देशक विष्टले एमसीए-नेपालले सबस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको बताए। दमौलीमा निर्माण गरिने तेस्रो सबस्टेसनको निर्माण सम्झौता पनि चाँडै हुने उनले जानकारी दिए। उनका अनुसार १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि परेको बोलपत्रको मूल्यांकन भइरहेको छ। उनले भने, ‘हामी प्रसारण लाइनको बाँकी अंश निर्माणका लागि पनि बोलपत्र आह्वान गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ।’

४०० केभीे रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनहरूबाट प्राप्त हुने ३,२०० मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता हुनेछ। नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेज स्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ।

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल-भारत सीमासम्म ३१५ किमि प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ। बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यथाशीघ्र यसै वर्ष पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ।

प्रकाशित: २ असार २०८१ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =