वैकल्पिक शक्ति खोज्दैमा बाबुरामले बिताएको ९ वर्ष

रमेश दवाडी ३० जेठ २०८१ १०:५९
226
SHARES
वैकल्पिक शक्ति खोज्दैमा बाबुरामले बिताएको ९ वर्ष

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई वैकल्पिक शक्तिको खोजीमा लागेको नौ वर्ष बितेको छ। २०७२ सालमा नयाँ संविधान जारी भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीबाट अलग भएका उनले २०७३ जेठ ३० गते दशरथ रंगशालामा ‘नयाँ शक्ति’ पार्टी घोषणा गरेका थिए।

संविधान जारी भएपछि राजनीतिमा अनेक ठक्कर खाने नेतामध्ये बाबुराम अग्रपंक्तिमा आउँछन्। उनी थाकेका भने देखिँदैनन्, नयाँ वैकल्पिक शक्ति बनाउने हुटहुटीमा निरन्तर छन्। जानकारहरू भने  विचार सही भए पनि शैली र सोच गलत रहँदा बाबुरामको राजनीतिक भविष्य त्यति गतिलो देख्दैनन्। विगत नौ वर्षका उतारचढावले पनि यही संकेत गर्छ।

नयाँ शक्तिदेखि नेपाल समाजवादीसम्म आइपुग्दा बाबुरामले धेरै नेतासँग एकता गरे। उनको एकता टिक्न भने सकेन। यतिमात्रै होइन उनका सारथीहरू पनि क्रमश: अलग हुँदै गए। नयाँ शक्ति र मधेशी जनअधिकार फोरम मिलेर समाजवादी पार्टी, नेपाल बन्यो।

समाजादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचमा एकता (२०७७/१/१० गते) गरे। अनि बन्यो जनता समाजवादी पार्टी (जसपा)। २०७८ भदौ १ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले जसपा फुटाए। त्यसपछि जसपाको नेतृत्वमा बाबुराम र उपेन्द्र रहे। बाबुराम र उपेन्द्रबीच पनि फाटो आयो र २०७९ असार २८ गते अलगिए। त्यसपछि बाबुरामले ०७९ साउनमा नेपाल समाजवादी पार्टी बनाएका थिए।

अहिले आएर भट्टराईले नयाँ शक्तिकै पृष्ठभूमिमा नेपाल समाजवादी पार्टीको गतिविधि अगाडि बढाएका छन्। नयाँ शक्ति घोषणा गरेका उनले ९ वर्षपछि पार्टी स्थापना दिवस मनाउँदैछन्। यस अवसरमा काठमाडौँको कमलादीमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नै नयाँ शक्ति भएको नेसपा नेताहरू बताउँछन्। उनीहरूका अनुसार पार्टीको नाम फरक तर एजेन्डा, सिद्धान्त र लक्ष्य नयाँ शक्तिकै रहेको छ।

सोही कारण जेठ ३० गतेलाई नै पार्टी स्थापना दिनका रूपमा स्मरण गरिएको नेसपाका प्रवक्ता कृष्ण शर्माले बताए। उनले भने, ‘अहिले नेपाल समाजवादी पार्टीलाई नयाँ शक्तिको निरन्तरतामा अगाडि बढाउन खोेजेका छौँ। पुराना पार्टीप्रति अनाकर्षण हुँदा नेसपाप्रति जनताको आकर्षण बढेको छ। नयाँ शक्तिमा लागेका साथीहरू फर्कनुभएको छ। पार्टी स्थापनाको आजको कार्यक्रमबाट नयाँ स्वरूप लिन्छ।’

नयाँ शक्तिमा सबै प्रकारका मानिस जोडिएका बेला उनीहरूलाई व्यवस्थापन गर्न नसकिएको प्रवक्ता शर्माले बताए। परम्परागत पार्टीलाई विश्वास गरेर अगाडि बढ्न खोज्दा वैकल्पिक शक्ति निर्माणमा चुकेको र अब त्यस्तो गल्ती नदोहोरिने उनको दाबी छ।

‘नयाँ शक्तिमा धेरै मानिस आए। ती मानिसलाई व्यवस्थापन गर्न सकिएन। हाम्रो कमजोरी रह्यो। परम्परागत राजनीतिक चिन्तन, प्रणाली र कार्यशैली भएका राजनीतिक शक्तिलाई रूपान्तरण गरेर अगाडि बढ्न खोज्दा चुक्यौँ। अब त्यस्तो हुँदैन,’ शर्माले भने।

उनका अनुसार नेसपाले समतामूलक समृद्धि, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समुन्नत समाजवाद, स्वाधीनता/सार्वभौमसत्ताजस्ता सिद्धान्त अघि सारेको छ। ‘हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री पनि भनेका छौँ। सोही सिद्धान्तले देशलाई समृद्धिमा लैजानेछ’, प्रवक्ता शर्माले भने।

नेसपाका नेताहरूले नेसपालाई वैकल्पिक शक्ति वा नयाँ शक्ति जे नाम दिए पनि त्यसले गति लिन नसक्ने बताउँछन् नयाँ शक्ति संस्थापकमध्येका एक डम्बर खतिवडा। खतिवडा नयाँ शक्तिदेखि जसपासम्म केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेर काम गरेका थिए। २०७९ साउनमा बाबुरामको साथ छाडेका उनी ‘नागरिक पहिलो’ अभियानमा छन्।

बाबुरामले नयाँ शक्तिलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा २०७६ वैशाख २३ गते मिसाएपछि राजनीतिक गल्ती सुरु भएको खतिवडाको तर्क छ। खतिवडा समाजवादी पार्टी भन्ने समूहले धेरै राजनीतिक गल्ती गरेकै कारण त्यसको असर बाबुराममा परेको र अविश्वास बढेको बताए। ‘एउटा कारण राजनीतिक अविश्वसनीयता हो’, उनले भने।

नेकपा माओवादी केन्द्रको चिह्न लिएर नेसपा चुनावमा उठ्नुलाई पनि उनले गल्तीकै रूपमा औँल्याए। खतिवडाले भने, ‘माओवादीको चुनाव चिह्न लिने, चुनाव लड्ने, गठबन्धन गर्ने, गठबन्धन सरकारमा सामेल हुने जस्ता राजनीतिक गल्ती भए। त्यो कारणले यो नयाँ शक्ति हो भनेर पत्याउन कठिन हुन्छ। ती पुराना कुरा मानिसले बिर्सन पनि २०/२५ वर्ष लाग्छ।’

उनले नयाँ शक्ति स्थापना भएकै दिनलाई नेपाल समाजवादी पार्टीको स्थापना दिवस मान्ने, पुनर्स्थापित हुनुलाई सकारात्मक रूपमा लिए। ‘नयाँ शक्ति पार्टीका रूपमा जे गर्न खोजिएको थियो त्यो गलत कदमको सिकार भयो। ऐतिहासिक गल्ती भए। नेपाल समाजवादी पार्टीको स्थापना दिवस नै नयाँ शक्तिको स्थापना दिवसलाई मान्ने, पुनर्स्थापित  गर्ने, नयाँ ढंगले जान्छु भन्नुलाई सकारात्मक रूपले हेर्नुपर्छ। त्यो उहाँहरूको लोकतान्त्रिक अधिकार पनि हो’, खतिवडाले भने।

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर पुरानोबाट नयाँमा जान खोज्नु मानवीय स्वभाव भए पनि नयाँ शक्ति भनेर परिभाषित गर्नेहरूको विचार, मूल्यमान्यता, आदर्श पनि नयाँ हुनुपर्ने बताउँछन्।

पिटरले पनि खतिवडाकै भनाइमा सहमति जनाउँदै नयाँ शक्ति जे उद्देश्यका लागि स्थापना भएको थियो त्यसमा बाबुराम टिक्न नसकेको बताए। उनको भनाइ छ, ‘नयाँ शक्तिभित्र पुरानो ह्याङओभर भएर पुरानै राजाहरू जन्मिए। नयाँ चरित्र देखाउन सकेनन्। आवेगमा नयाँ शक्ति बन्यो। भर्‍याङ चढेर माथिल्लो तलामा जाने आधार त बन्यो तर त्यो आवेग विचार र दर्शनमा पुग्न सकेन।’

बाबुरामको गतिविधि प्रतिक्रियाको रहेको र प्रतिक्रियामा नभई आदर्शबाट मात्र नयाँ शक्ति जन्मिँदा त्यसले सफलता पाउने पिटरको तर्क छ। नयाँ शक्ति बनाउन बाबुरामले इन्द्रणी दृष्टिकोण अगाडि सारे पनि अभिजात वर्गीय अहंकारले हिमाल, पहाड र तराईलाई एक बनाउन नसकेको टिप्पणी उनले गरे। बाबुरामले अब यस्ता गल्ती दोहोर्‍याउन नहुने पिटरले बताए।

राजनीतिक वृत्तमा नयाँ भनिएका दलबाट जनताको भरोसा क्रमशः टुट्दै गएको चर्चा छ। यसबीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी पटक-पटक कांग्रेस, एमाले र माओवादीको सत्ताको भर्‍याङमात्र बनेर जनताको आवश्यकता पूरा गर्न नसकेको आरोप छ। जसकारण आगामी चुनावमा यी कुनै पनि पार्टी एक्लै चुनावमा जाने सम्भावना छैन। जानकाररू विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीको कमजोर संगठनले चुनाव जित्ने सम्भावना देख्दैनन्।

त्यसो हुँदा यी पार्टीबीच एकताको पनि चर्चा भएको छ। नेसपा विवेकशील साझा, रास्वपा, नागरिक अभियानलगायत नयाँ राजनीतिक दलसँग संवादमा छ। २०८४ सालको चुनावसम्म पार्टी एकता गरेरै अगाडि बढ्ने रणनीति रहेको नेताहरूले बताउने गरेका छन्।

विश्लेषक पिटरले यी पार्टी प्रतिक्रियाबाट जम्मा भएकाले दीर्घकालीन आयु नरहेको बताए। साथै पार्टी एकता पनि नहुने बताए। उनले भने, ‘प्रतिक्रियाबाट जम्मा भएका कुनै शक्तिको दीर्घकालीन आयु हुँदैन। यस्ता शक्तिलाई खहरे भनिन्छ। खहरेको नियति सुक्नु या नदीमा मिसिनु हो।’

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेसपाले स्थापना दिवस मनाइरहँदा बाबुराम भट्टराई पार्टी जीवनमा पुनर्जागृत भएको बताउँछन्। बाबुराममा पार्टी चलाउने क्षमताचाहिँ नभएको आचार्यको बुझाइ छ।

‘उहाँ पार्टी जीवनमा पुनर्जागृत हुनुभएको छ। यो खुसीको कुरा हो। व्यक्तिगत रूपमा मलाई उहाँ राम्रो लाग्छ। उहाँले नयाँ शक्ति पार्टीको निरन्तरता खोज्नुभएको छ। उहाँमा पार्टी चलाउने क्षमताचाहिँ देखिएन। माओवादीदेखि यहाँसम्मको इतिहासमा उहाँले कुनै पनि पार्टी बनाउन नसकेको इतिहास छ,’ आचार्यले भने।

आफूलाई समाज विज्ञानको ज्ञाता/अध्येता भन्न रुचाउने बाबुरामले सबै कुरा मार्क्सवादी दृष्टिकोणबाट बुझ्दा पार्टी उँभो नलागेको आचार्यले तर्क गरे। बलियो पार्टी निर्माणका लागि बाबुरामले सोचमा परिवर्तन ल्याउनुपर्ने आचार्यको सुझाव छ।

‘भट्टराईले नेपाली समाजलाई मार्क्सवादी दृष्टिकोणबाट मात्र बुझ्नुभएको छ। समाजविज्ञान बुझ्नुभएको छैन। उहाँ आफूलाई समाजविज्ञानको अध्येता, ज्ञाता पनि हो भन्नुहुन्छ। सबै कुरा मार्क्सवादी दृष्टिकोणबाट हुन्छ भन्ने बुझनुभयो,’ विश्लेषक आचार्य भन्छन्, ‘त्यसपछि त्यो पार्टी उँभो लाग्दैन। उहाँले सोचमा परिवर्तन ल्याउन जरुरी छ।’

बाबुरामको सोच कांग्रेस-कम्युनिस्टभन्दा पृथक् हुनुपर्ने आचार्यले बताए। उनी भन्छन्, ‘काठमाडौँको प्रज्ञाभवनमा कार्यक्रम गरेर पार्टी बन्दैन। पार्टी बनाउन जनतासँग जोडिनुपर्छ। उहाँजत्तिको क्षमतावान् मानिस कांग्रेस र कम्युनिस्टभन्दा पृथक् हुनुपर्छ। पृथक् बाटो लिनुभयो भने हामी पनि सहयोग गर्छौँ।’ पार्टी निर्माणका लागि जनतासँग जोडिनैपर्ने उनको सुझाव छ।

नेपालमा वैकल्पिक शक्ति आवश्यक रहेको पनि आचार्यले बताए। ‘नेपालमा वैकल्पिक शक्तिको आवश्यकता छ। कसले निर्माण गर्नसक्छ थाहा छैन’, उनले भने।

अनुदार बाबुराम, पार्टी स्थापना दिवसमा छैन प्रमुख दललाई निम्ता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =