महेन्द्रनगर (कञ्चनपुर)- मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन्भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो। दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदनीमा हेल्पर पदका कार्यरत दोधारा चाँदनी नगरपालिका–६ की ५० वर्षीया कौशिला शर्मा शवगृहमा कार्यरत रहेका छन्। दोधारा चाँदनीमा शव शवपरीक्षणका लागि आउँदा कौशिलाको सक्रियता शवपरीक्षण केन्द्र चिकित्सकसँगै बढ्न जान्छ।
विसं २०६६ देखि अस्पतालमा करारमा कार्यरत कौशिलाले हालसम्म दर्जनौँ शव चिरफार गरिसकेकी छन्। ‘वर्षमा ४० देखि ५० शव आउँछन्’, उनले भनिन्, ‘कालगतिले वा कुनै घटना दुर्घटनाले युवा तथा बालबालिकाको मृत्यु हुँदा आउने शव चिरफार गर्न हुने पीडा शब्दले व्यक्त गर्न सक्दिनँ।’
उनी चिकित्सकको आग्रहअनुसार शव चिर्ने, भिसेरा निकाल्ने र शव सिलाउने काम गर्दै आएकी छन्। प्रक्रियाअनुसार शव शवपरीक्षण गर्दा प्रहरी, चिकित्सक र हेल्परको शवगृहमा उपस्थिति रहन्छ। ‘हेल्परमा काम सुरु गरेको वर्षदिन जति काम हेर्दै सिकेँ,’ उनले भनिन्, ‘बाँकी डेढ दशकयता शव चिर्न आफैँ सक्रिय छु।’
विसं २०२२ मा दोधारा चाँदनीमा बसोबास गर्दै आएका कौशिलाका पति कृष्णप्रसाद शर्मा गाउँमा सामान्य ठेला व्यापार गर्छन्। ‘शवको काममा लाग्दा सुरुमा केही दिन खाना खाने मनसमेत लाग्थेन’, उनले भनिन्, ‘सुदूरपश्चिमका अरू अस्पतालमा महिला शवको काममा लागेको मलाई जानकारी छैन।’
केही समयअघि नगरपालिकाले उनलाई एक कार्यक्रमबीच पुरस्कृत गरेको थियो। प्राथमिक तहको अध्ययन मात्रै गरेकी कौशिला शवगृहको काममा भने दख्खल कर्मचारी मानिन्छिन्। ‘पहिले गोरु गाडामा शव आउने र गाडामै राखेर शवपरीक्षणको काम हुन्थ्यो’, उनले भनिन्, ‘सात वर्षदेखि पोष्टमार्टम घर बनेकाले सहज भयो।’ जागिर सुरु गर्दा रु दुई हजार पाँच सय मासिक तलबमा काम गरेको बताउने उनको हालको तलब १९ हजार रुपैयाँ छ।
लामो समय शवगृहमा काम गरेको अनुभव बटुलेकी कौशिलालाई घर परिवारले विश्राम लिन भने पनि अस्पतालमा उक्त काम गर्ने कर्मचारीको अभावले छाड्न नसकेको उनको भनाइ छ। शवपरीक्षणपछि प्रतिशवको रु पाँच सय भत्ता आउने गरेको सुने पनि आफूले भने अहिलेसम्म नपाएको उनको दुखेसो छ। उनले शवपरीक्षणको काम पनि एक प्रकारको समाज सेवाका रुपमा आफूले लिने गरेको बताइन् ‘जन्मपछिको मृत्यु सत्य हो’, उनले भनिन्, ‘मृत शरीर अस्पतालमा आउँदा त्यसको व्यवस्थापन र प्रक्रियागत काम सक्नु मेरो जिम्मेवारी हो।’
दोधारा चाँदनी अस्पतालका प्रमुख डा जयानन्दनप्रसाद साह चिकित्सकले दिएको काम हेल्पर कौशिलाले सहज रुपमा गर्ने गरेको बताए। ‘कागजात सङ्कलनदेखि शव चिरफारसम्मको काममा उहाँ सक्रिय हुनुहुन्छ’, डा साहले भने, ‘महिलालाई शवको चिरफारको काममा देखेर म पनि सुरुमा चकित परे।’ उनले शव देखेर डराउने समाजमा महिला भएर पनि हिम्मतका साथ सडेगलेको अवस्थामा आएका शव पनि परीक्षणमा सहज रुपले उहाँ खटिने गरेको बताए। रासस