दूधमा आत्मनिर्भर काभ्रे, दैनिक चार लाख लिटर उत्पादन

हिमाल प्रेस २६ जेठ २०८१ १६:११
14
SHARES
दूधमा आत्मनिर्भर काभ्रे, दैनिक चार लाख लिटर उत्पादन

काभ्रेपलाञ्चोक- पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ। त्यतिबेला पनि घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा स्याहारेको अवस्थामा नगरले नै पाँच हजार ‘सुत्केरी भत्ता’ गोठमै पुगेर दिएको थियो।

‘पहिलो बेतको पाडी हुर्कियो, अहिले दोस्रो बेतमा राम्रो भएको छ, मैले बुझाएको सात हजारमध्ये पुनः पाँच हजार अनुदानमा ल्याएकको पाडी सुत्केरी भत्तामा फिर्ता आयो’, थापाले भनिन्। थापाले दुई हजार नगरलाई दिएको ‘बोट’मा अहिले दुई लाख फलेको भन्दै थापा खुसी व्यक्त गर्छिन्।

यस्तै नगरबाट पाडी अनुदान पाएकी स्थानीय शोभा थापाले एक वर्ष नपाल्दै ब्याएपछि घर खर्च चलाउने आधार बनेको बताइन्। ‘भैँसीले दैनिक आठ लिटर दूध दिन्छ, यसमध्ये पाँच लिटर बेच्न लैजान्छु, यसबाटै घरखर्च चलेको छ’, उनले सुनाइन्।

पनौती नगरपालिकाले तीन वर्षको अवधिमा नौ सय १९ वटा पाडी वितरण गरेको थियो। यसमध्ये हाल तीन सय ११ भैँसी ब्याइसकेको नगरको कृषि तथा पशुपक्षी शाखाको विबरणमा उल्लेख गरिएको छ। वर्षौंदेखि गाई पाल्दै आएकी पनौती–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थपेकी थिइन्।

नगरले ल्याएको अनुदानपछि भैँसी थपेर दूध विक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएको उनले बताइन्। वषौँदखि भैँसीपालन गर्दै आए पनि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसी पाल्न छोडेको बताउने पनौती नपा–१२ का यज्ञ खत्री नगरले भैँसी पालनमा ल्याएको अनुदान, वीमा र सुत्केरी प्रोत्साहनले पुनः व्यवसायिक भैँसीपालनमा लागेका छन्।

उनी भन्छन्, ‘विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिने भएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिएँअहिले पुनः भैँसी पाल्न जाँगर चलाएको छु, अहिले मेरो गोठमा सात भैँसी छन्।’ पनौती नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमबाट सहयोग मिल्नुका साथै थप आत्मबल बढेको उनको भनाइ छ।

‘भैँसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थ्थो अब त्यो समस्या हटेको छ,भैसीको वीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहत मिलेको छ’ पनौती–१२ कै भावना थापाको भनाइ छ,‘अब थप दुई भैँसी थपेर पाडापाडी पनि हुर्काउँछु।’

पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ वटा भैँसी पालेका छन्। उनी भन्छन्,‘नगरले भत्तासँगै भ्याक्सिन र औषधी निःशुल्क गर्दा यसप्रति आकर्षण पनि थपिएको छ।’ हाल दूध दैनिक करिब ७५ हजार लिटर हाराहारीमा उत्पादन हुन्छ। यसमध्ये ५० हजार लिटर काठमाडौँ बिक्रीका लागि पठाइन्छ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पनौतीले पशुपालन क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गर्दा यस नगरमा मात्रै भैँसीको सङ्ख्या दोब्बर भई दोब्बर परिमाणमा दूध उत्पादन भएको हो।

जिल्लाको अधिकांश क्षेत्रका बासिन्दा पशुपालनमै छन्। पछिल्लो केही वर्षदेखि व्यावसायिक रुपमा दुग्ध उत्पादन एवं मासुका लागि पशुपालन क्षेत्रमा लागेको पाइन्छ।

काभ्रेपलान्चोक दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो २००९ सालमा नै सुरु भएको जिल्ला हो। जिल्लाबाट हाल उत्पादित दैनिक चार लाख लिटर दूध स्थानीय बजारसहित काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा खपत भइरहेको जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष नारायणप्रसाद बडालले जानकारी दिए।

हाल दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरीले दूधको विगत दुईदेखि चार महिनाको भुक्तानी रकम रोकिँदा किसानलाई समस्या निम्तिएको छ। दूध विक्रीबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले किसानलाई पशु आहारा जस्तैः घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सिर्जना भएको किसान संघ काभ्रेपलाञ्चोकका अध्यक्ष गोपालबहादुर तिमल्सिनाले बताए।

उनका अनुसार किसानको दूध बिक्रीको पैसा रोकिँदा बैंक तथा वित्तिय संस्थाबाट पशुपालनका लागि लिएको कर्जाको किस्ता तिर्न धौधौ परेको छ।

यसका लागि केन्द्रीय दुग्ध सहकारी संघ तथा जिल्ला दुग्ध सहकारी संघ गत मंसिर २६ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा भएको सहमति अनुसार कृषकलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम पुस मसान्तभित्रै गरिसक्ने, कृषकबाट लिइरहेको दूधको परिमाण नघटाई संकलन गर्नेलगायतको कार्य हुनुपर्ने जनाउँदै आन्दोलित भएका छन्।

प्रकाशित: २६ जेठ २०८१ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =